कम्बोडियाका प्रधानमन्त्री जापान र इन्डोनेसिया भ्रमणमा

न्होमपेन्ह, २० असोज : कम्बोडियाका प्रधानमन्त्री समडेच टेचो हुन सेन जापान र इन्डोनेसियाको भ्रमणका लागि शनिबार जापानको राजधानी टोकियो प्रस्थान गर्दै हुनुहुन्छ ।

कम्बोडियाको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री हुन सेन शनिबार साँझ जापानको राजधानी टोकियो प्रस्थान गर्न लाग्नुभएको हो । उहाँ जापानमा रहँदा आइतबार त्यहाँ आयोजना हुने दशौँ मेकोङ जापान सम्मेलनमा सहभागी हुनुहुने छ । साथै उहाँले त्यहाँ रहँदा उहाँका जापानी समकक्षी जापानी प्रधानमन्त्री सिन्जो आबेसँग द्धिपक्षीय भेटवार्ता गर्नुहुने जनाइएको छ ।

प्रधानमन्त्री हुन सेन यही अक्टोबर १० मा इन्डोनेसिया प्रस्थान गर्नुहुने छ । उहाँ इन्डोनेसियाको बालीमा आयोजना हुने एक सम्मेलनमा यही अक्टोबर १२ मा सहभागी हुनुहुने छ ।

बालीमा दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको एक सम्मेलन हुन लागेको छ । सो सम्मेलनमा प्रधानमन्त्री हुन सेनसहित एसियाली देशका अरु पनि प्रधानमन्त्रीहरुको सहभागिता रहने छ ।

यस सम्मेलनलाई उच्चस्तरीय एसियाली सम्मेलन नाम दिइएको छ । सो सम्मेलनलगत्तै बालीमा विश्व वैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको पनि बैठक हुन लागेको छ ।

एसियाली नेताहरु यही अक्टोबर १२ मा आयोजना हुने विश्व वैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको विशेष बैठकको उद्घाटन सत्रमा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्री हुनसेनसँगै रहेका कम्बोडियाली एकजना मन्त्री सेरी थामारोङले जानकारी दिनुभएको छ ।

थामारोङलले प्रधानमन्त्री हुन सेन यही अक्टोबर १४ मा स्वदेश फर्किनुहुने कार्यक्रम रहेको जानकारी पनि गराउनुभएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.