अफगानिस्तानमा बम आक्रमण गरी जिल्ला प्रमुखको हत्या
काबुल, १९ असोज : अफगानिस्तानको हेल्माण्ड प्रान्तका एकजना जिल्ला प्रमुखको बम हमला गरेर हत्या गरिएको समाचारमा जनाइएको छ । आइतबार भएको सो बम हमलामा परी अफगानिस्तानको हेल्माण्ड प्रान्तका जिल्ला प्रमुख नाकिबुल्लाह रोशनको ज्यान गएको हो ।
हेल्माण्ड प्रान्तका प्रान्तीय गभर्नर ओमार जवाकले उक्त कुराको जानकारी गराउनुभएको छ । उहाँले तालिबानीहरुले गरेका बम आक्रमणमा परी उहाँको ज्यान गएको जानकारी दिनुभयो । रोशन उक्त प्रान्तको लस्कर ए गाह जिल्लाका एक लोकप्रिय नेता पनि रहनुभएको जानकारी गराइएको छ ।
प्रान्तीय गभर्नर जवाकले उक्त जिल्लामा रहेका अर्का कानुनी अधिकारी पनि नराम्ररी घाइते भएको जानकारी यहाँका स्थानीय सञ्चारमाध्यमहरुलाई दिनुभएको छ । पछिल्ला केही दिनहरुमा उक्त क्षेत्रमा तालिबानीहरुले बम हमलाका घटनाहरु गराइरहेका छन् ।
अफगान सरकार र तालिबानीहरुकाबीचमा कतारको दोहामा हालै वार्ता शुरु भएको बताइएको थियो । तर यता अफगानिस्तानमा भने तालिबानीहरुले भने हिंसात्मक हमलाहरु जारी नै राखेका छन् ।
राष्ट्रसंघीय महासचिवद्धारा कारबम हमलाको निन्दा
संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानमा भएको कारबम हमलाको निन्दा गर्नुभएको छ । अफगानिस्तानको नानगाहार प्रान्तको एक जिल्लामा रहेको सरकारी कार्यालय परिसर गएको शनिबार अपराह्न तालिबानी आत्मघाती लडाकूहरुले कारबम हमला गरेका थिए ।
त्यस कारबम आक्रमणमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको थियो भने अरु करिब ४२ जना नराम्ररी घाइते भएका थिए । अपरान्ह कार्यालय समयमा सेवा लिन गएका सर्वसाधाराण नागरिकहरुको भिडभाड रहेको मौका पारेर आत्मघातीहरुले नान्गाहार प्रान्तको जिल्ला प्रशासनिक कार्यालयमा सो बम हमला भएको थियो ।
त्यस क्रममा सरकारी काम लिन सो कार्यालयमा लाममा बसेका सर्वसाधारणको ज्यान गएको थियो । घाइते हुने पनि सेवा लिन त्यहाँ पुगेका सर्वसाधारण थिए । यसरी आफ्ना कामका लागि सरकारी कार्यालयमा पुगेका सर्वसाधारण नागरिकको हत्या गर्नु जघन्य अपराध हो भन्दै महासचिव गुटर्रेसले त्यस कार्यको कडा शब्दमा निन्दा गर्नुभएको छ ।
महासचिव गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकद्धारा आइतबार जारी गरिएको विज्ञप्तिमा सो कुरा बताइएको छ । सो विज्ञप्तिमा महासचिव गुटर्रेसले यस जघन्य अपराधमा संलग्नहरुलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने पनि बताउनुभएको छ ।
साथै उहाँले यस आक्रमणमा परी ज्यान गुमाएका परिवारका सदस्यहरुप्रति समवेदना व्यक्त गर्दै निधन भएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । महासचिव गुटर्रेसले सो बम हमलामा परी घाइते भएका सर्वसाधारण नागरिकको स्वास्थ्या लाभको कामना गर्नुभएको पनि उहाँका प्रवक्ता डुजारिकले प्रकाशन गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
