लेबनानमा भएको विस्फोटमा १३५ को मृत्यु, चार हजार भन्दा बढी घाइते
बेरुत २२ साउन : लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १३५ पुगेको छ ।
करिब २ हजार ७५० टन ‘एमोनियम नाइटे«ट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटमा परी चार हजार भन्दा बढी घाइते भएका बताइएको छ ।
यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइटे«ट’ भण्डारण गरिएको थियो ।
लेबनानका गृहमन्त्री मोहम्मद फाहमीले सो गोदाममा एमोनियम नाइट्रेट राखिएकाले त्यो विस्फोट शक्तिशाली हुन पुगेको र यसले ठूलो क्षति पुर्याएको बताउनुभएको थियो ।
लेबनानका प्रधानमन्त्री हासान डीयाबले यस विस्फोटलाई देशको ठूलो विपत्ति हो भन्नुभएको थियो । उहाँले यस विषयको अनुसन्धान शुरु भइसकेको र दोषीहरूलाई जबाफदेही बनाइनुपर्ने बताउनुभएको छ ।
उहाँले एक टेलिभिजनमा सम्बोधन गर्दै यस घटनामा संलग्नहरुलाई कडा कारबाही गरिने छ र उनीहरुलाई उम्किन दिइने छैन भन्नुभएको छ । गोदाममा राखिएको एमोनियम नाइट्रेटको अवस्था बारेमा जाँचबुझ गरी पाँच महिना अघि नै लेबनान सरकारलाई प्रतिबेदन बुझाइएको पनि संचार माध्यमहरुले जनाएका छन् । प्रतिबेदनमा एमोनियम नाइट्रेटको भण्डारमा सुरक्षा सतर्कता अति जरुरी रहेको औंल्याइएको थियो ।
फ्रान्सका राष्ट्रपति लेबनान भ्रमणमा
पेरिस, २२ साउन : फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रो लेबनान भ्रमणका लागि बिहीबार त्यसतर्फ प्रस्थान गर्नु भएको फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा भिषण बिस्फोट भएपछि लेबनान भ्रमण गर्ने उहाँ पहिलो राजनेता हुनुहुन्छ ।
राष्ट्रपति म्याँक्रोले लेबनानका राष्ट्रपति मिसेल आउन र प्रधानमन्त्री हस्सन डायब सहित सबै प्रमुख राजनीतिक नेताहरुसँग लेबनानको पछिल्लो आर्थिक तथा राजनीतिक अवस्थाका बारेमा विचार विमर्श गर्नु हुनेछ ।
उहाँले लेबनानका लागि आपतकालीन सहायता जुटाउन विशेष रुपमा पहल गर्ने फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जनाएको छ । विगतमा फ्रान्सको उपनिवेश रहेको लेबनानमा आर्थिक सुधारका कार्यक्रममा फ्रान्सले नेतृत्वदायी भूमिका खेल्ने लेबनानको विश्वास छ ।
