पोल्याण्डको सर्वोच्च अदालतको फैसला डुडाको पक्षमा

वार्सा, १९ साउन : पोल्याण्डमा हालै भएको राष्ट्रपतीय निर्वाचनको विषयमा सर्वोच्च अदालतले वर्तमान राष्ट्रपति अन्डर्जेन डुडाको पक्षमा फैसला गरेको छ ।

उहाँको पक्षमा आएको निर्वाचनको नतिजालाई अस्वीकार गर्दै दिइएको चुनौतीलाई अदालतले सोमबार गलत ठहर गरेको हो ।

राष्ट्रपति डुडाको विपक्षी समूहले निर्वाचनको नतिजा धाँधलीपूर्ण भएकोले स्वीकार्न नसकिने दावी सहित अदालतमा मुद्दा दायर गरेका थिए ।

पोल्याण्डमा गत जुन २८ मा राष्ट्रपति चयनका लागि पहिलो चरणको मतदान भएको थियो भने कुनै उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि जुलाई १२ मा दोस्रो चरणको निर्वाचन गरिएको थियो ।

त्यसपछि सार्वजनिक गरिएको निर्वाचनको नतिजामा डुडाले ५१ प्रतिशत मत ल्याएर निर्वाचित भएको उल्लेख गरिएको थियो । तर विपक्षीहरुले भने राज्य शक्ति र श्रोतको दुरुपयोग गरेर डुडाले निर्वाचनको नतिजालाई आफ्नो पक्षमा पारेको आरोप लगाएका थिए ।

राष्ट्रपतिय निर्वाचनमा डुडालाई चुनौती दिन वार्साका मेयरसमेत भएका राफल त्रजास्कोब्स्की उम्मेदवार हुनुभएको थियो । विपक्षीहरुले बनाएको नागरिक गठबन्धनको तर्फबाट चुनावी मैदानमा उत्रिनु भएका राफलले ४८.९७ प्रतिशत मत ल्याउनु भएको घोषणा गरिएको थियो ।

कोरोनाको त्रासबीचमा भएको निर्वाचनमा पनि कुल मतदातामध्ये ६८.१२ प्रतिशत मतदाताले मतदान गरेका थिए ।

यो निर्वाचन गत मे मै हुनुपर्ने भए पनि कोरोनाभाइरसको महामारीका कारण जुन २८ का लागि सरेको हो । निर्वाचनका लागि वर्तमान राष्ट्रपति डुडासँगै अरु दश जना चुनावी प्रतिस्पर्धामा रहेका थिए । अठचालीस वर्षीय डुडालाई सत्तारुढ अनुदारवादी ‘ल एण्ड जस्टिस पार्टी’को समर्थन रहेको थियो ।

सर्वोच्च अदालतको फैसलासँगै उहाँ दोस्रो पाँच बर्षे कार्यकालका लागि राष्ट्रपति बन्नु भएको छ ।

युरोपेली संघको सदस्य समेत रहेको यो देशमा अन्य युरोपेली देशहरुले जस्तो कोरोनाभाइरसको महामारी भोग्नु परेको छैन । मतदानका लागि कोरोनाबाट बच्न अपनाइने आधारभूत सुरक्षा सतर्कता भने अपनाउन मतदातालाई सचेत गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.