हस्तक्षेप गर्ने संयुक्त राष्ट्रसंघको अधिकार छैन : म्यान्मार सेना प्रमुख

याङ्गुन, ८ असोज : म्यान्मारका सेना प्रमुख मिन आङ हाइङले संयुक्त राष्ट्रसङ्घलाई देशको सार्वभौमिकतामाथि हस्तक्षेप गर्ने कुनै अधिकार नभएको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताहरुले अल्पसङ्ख्यक रोहिङ्ग्या मुसलमान समुदायविरुद्ध जातीय सफाया गर्ने उद्देश्यले हत्याहिंसा गरेको म्यान्मारको सेनामाथि आरोप लगाएको एक हप्तापछि सेना प्रमुखको यो भनाइ आएको हो ।

देशको सार्वभौमिकतामाथि निर्णय र हस्तक्षेप गर्ने कुनै देश, सङ्गठन र समूहलाई अधिकार नभएको सेनाप्रमुख हाइङको भनाइ उद्धृत गर्दै सेनाद्वारा सञ्चालित अखबार म्यावाडीले प्रकाशन गरेको छ ।

गत वर्षको अगस्टदेखि रोहिङ्ग्या मुसलमानमाथि म्यान्मारको सेनाबाट भएको हिंसाको विषयमा ४४४ पृष्ठको अनुसन्धानात्मक प्रतिवेदन संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको थियो । रखाइन राज्यमा रोहिङ्गया मुसलमानविरुद्ध भएका हत्या, बलात्कार अत्यन्त अन्यायपूर्ण हिंसाले मानव जीवनको अपमान गरेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ ।

गत वर्षको अगस्टबाट सुरु भएको यस जातीय हिंसाका कारण सातलाख भन्दा बढी रोहिङ्गया मुसलमानहरु बङ्गलादेश पुगेका छन् । अझै पनि उनीहरु बङ्गलादेशमा नै शरणार्थीको रुपमा रहन बाध्य छन् ।

बारम्बार दुई देशबीच भएका सम्झौताको बाबजूद बङ्गलादेशमा शरणार्थी म्यान्मार फर्किन डराएका छन् । तर सेनाले भने म्यान्मारको रखाइन राज्यमा भएको यस दमनलाई अस्वीकार गर्दै आएका छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.