युरोपेली देशबाट अमेरिकामा हुने उडानमा प्रतिबन्ध   

वासिङटन, २९ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्ने प्रयासस्वरूप युरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा ३० दिनका लागि रोक लगाउनु भएको छ ।

टेलिभिजन सम्बोधनमार्फत उहाँ उक्त घोषणा गर्नु भएको छ । ब्रिटेनलाई भने यो नियम लागु नहुने बताइएको छ । उता, इटलीमा कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न किराना र औषधीबाहेक सबै पसलहरू बन्द गर्ने घोषणा गरेको छ ।

प्रधानमन्त्री जुजेप्पे कोन्टेले बार, रेन्टुरेन्ट, कपाल काट्ने पसल र अति आवश्यकीयबाहेक सबै किनमेल केन्द्र बन्द हुने तर सामान घरमै र्पुयाउन भने नरोकिने बताउनु भएको छ ।

टेलिभिजनमा सम्बोधन गर्नु हुदै प्रधानमन्त्री कोन्टेले त्यो प्रतिबन्ध बिहीवारदेखि २५ मार्चसम्म लागु हुने बताउनुु भएको छ । नयाँ सङ्क्रमणको दरलाई लिएर कडा तुल्याइएका प्रतिबन्धहरूको परिणाम केही सातामा देखिने उहाँले विश्वास व्यक्त गर्नु भएको छ ।

इटलीमा स्कुल, व्यायामशाला, सङ्ग्राहलय, रात्रिक्लब र अन्य सार्वजनिक स्थलहरू यसअघि नै बन्द गरिएका छन कोरोना भाइरस सङ्क्रमणको कारण इटालीमा ८२७ जनाले ज्यान गुमाएका छन्, भने १२ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का आपतकालीन प्रमुख मिसेल रियनकाअनुसार इटलीमा करिब ९०० जना सङ्क्रमितहरूलाई सघन उपचार कक्षमा भर्ना गरिएका छन् ।

उहाँले हाल इरान र इटलीको जस्तो सङ्कट छिट्टै अन्य देशहरूले पनि सामना गर्नुपर्ने चेतावनी दिए । यसअघि डब्ल्यूएचओले कोरोनाभाइरसको सङ्क्रमण विश्वव्यापी बनेको घोषणा गरेको थियो ।डब्ल्युएचओका प्रमुख टेड्रस एड्हानोम गेहब्रेयससले दुई सातामा चीन बाहिर सङ्क्रमण १३ गुणा बढेको बताउनु भएको छ ।

गत वर्षको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको यस कोरोना भाइरसको कारण विश्वभरी ४ हजार ५०० को मृत्यु भइसकेको छ । यसबाट विश्वभरी १ लाख २४ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएका जनाइएको छ ।

चीनपछि इरान र इटालीमा यस भाइरसको प्रभाव धेरै नै फैलिएपछि यसबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ह्वातै बढेको बताइएको छ ।

ट्रम्पद्वारा कोरोनाभाइरससँग जुध्न ५० अर्ब डलरको आर्थिक राहतको घोषणा

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस रोगका कारण आर्थिक नोक्सानी व्यहोर्न बाध्य साना व्यवसायीलाई मद्दत गर्ने गरी थप ५० अर्ब डलरको राहत प्याकेज घोषणा गर्नु भएको छ ।

राष्ट्रपति ट्रम्पले उक्त प्रस्तावको अनुमोदनका लागि अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स समक्ष पेश गर्नु भएको छ ।

ह्वाइट हाउसको ओभल अफिसबाट राष्ट्रका नाममा बुधबार सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भन्नुभयो, “यो आर्थिक सङ्कट होइन, कोरोनाको सङ्कट क्षणिक हो र यसलाई सबै मिलेर परास्त गर्न सकिन्छ ।”

उहाँले अमेरिकी मजदूर, परिवार र व्यवसायमा कोरोनाभाइरसबाट पुगेको नोक्सानीको विवरण संकलन गर्न र आर्थिक सहायताको खाका तत्काल बनाउन साना व्यवसाय प्रशासनलाई आदेश दिनु भएको छ ।

सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकी अर्थ मन्त्रालयलाई पनि कोराना प्रभावित व्यक्ति एवं व्यवसायले कर बुझाउनु पर्ने अन्तिम मिति अप्रिल १५ लाई परिवर्तन गर्न तथा व्याज वा जरिबाना नलिने व्यवस्था मिलाउन पनि निर्देश गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.