काबुलको मुहार फेर्ने अभियानमा जनताको सहयोग
काबुल, ३१ भदौ : पुरानो काबुलको माटोले बनेको भव्य पर्खाल बीचैबीचको साँघुरो गल्लीमा वकील मोहम्मद सदिकको घर छ । उहाँ घरमा आउने पाहुनालाई चिया खुवाउन अति लालायित देखिनुहुन्छ । “पैसा चाहिएको छ कि भनी नसोधी सहयोग गर्न खोज्ने तपाइँ पहिलो हो,” उहाँ भन्नुहुन्छ ।
अफगान राजधानी काबुलमा स्वीकृति बेगर बनाइएका हजारौं घरमध्येको वकीलको घर पनि एक हो । उहाँको घर वरिपरि युद्धबाट भागेका शरणार्थीले भरिभराउ छ र यहाँ युवाको जमात ठूलै छ ।
आजभोलि काबुलको सरकारी निकायले यी स्वीकृति बेगर बनाइएका घरहरुलाई विधिवत् दर्ता गर्ने योजना अघि सारेको छ । राष्ट्रपति अस्राफ घानीले इतिहासमै पहिलोपटक काबुलका घरजग्गा व्यक्तिका नाममा दर्ता गर्ने घोषणा गर्नुभएको छ ।
“यहाँको सहरीकरण द्वन्द्व र मानवीय सङ्कटबाट निर्देशित भएको छ,” युएन–ह्याबिटाटका सञ्चार प्रमुख कोस्से बोउलाइचले बताउनुभयो । काबुल सरकारसँगको साझेदारीमा युएन–ह्याबिटाटले घरजग्गाको दर्ता परियोजना अघि बढाएको छ । उहाँका अनुसार, सन् १९७० को दशकको अन्त्यतिर सोभियत सङ्घको पहलमा घरजग्गाको दर्ता गर्ने पहिलोपटक प्रयत्न गरिएको थियो ।
आज, काबुलमा ४० लाखभन्दा बढी मानिस बसोबास गर्दछन् । झण्डै ४० वर्षदेखिको अफगान द्वन्द्वका कारण गाउँगाउँबाट हजारौं मानिस सहरमा बसाइँ सरेका छन् । आश्रयको खोजीमा सहर पसेका मानिसका कारण काबुलमा बिना योजना वा अभिलेख घरहरु बनेका छन् ।
यहाँ बसोबास गर्ने अधिकांशका लागि सुरक्षाको कुनै प्रबन्ध छैन, र उनीहरु कुनैपनि बखत घरजग्गा छाड्नुपर्ने त्रासमा बाँचेका छन् । तर गाउँघरबाट मानिसको ओइरो थामिने अझै कुनै लक्षण छैन । सन् २०१५ यतामात्र युद्धका कारण गाउँघरबाट विस्थापित भएका २५ लाखभन्दा बढी मानिस काबुल समेतका सहरी क्षेत्रहरुमा आइपुगेका छन् ।
“काबुलमा युएन–ह्याबिटाटले अध्ययन गरेका दुई लाख ५५ हजार घरजग्गामध्ये केबल १५ प्रतिशतसँग मात्र कानुनी हक कायम रहेको पाइएको छ भने ४१ प्रतिशतसँग कानुनी महत्व नभएका कागजात छन् । करिब ४४ प्रतिशतसँग कुनै प्रमाण, कागजात नै छैन,” बोउलाइचले बताउनुभयो ।
काबुल उपत्यकाका पहाडी काखमा रहेका धुलाम्ये इलाकाहरुमा बनेका यी घरहरुको अवस्था नाजूक मात्र होइन अव्यवस्थित र गैरकानुनी छ । धेरैजसो घरहरु माटोले बनाइएका छन् र त्यहाँ विद्युत र खानेपानीको चरम अभाव छ ।
तर वकील समेतका यी घरहरुले ऐतिहासिक महत्व बोकेका छन्, भलै काबुलका सम्भ्रान्त क्षेत्रमा भने सडकहरु सफा र व्यवस्थित छन् ।
“कुनै घरधनी फेला नपारे त्यस्ता घरमा १५ वर्षको हाराहारीमा रहेबसेका व्यक्तिलाई बसोबासको प्रमाणपत्र दिइने योजना अघि सारिएको छ । घरधनी फेला पार्न युएन–ह्याबिटाटको टोलीले नगरपालिका र यसको अभिलेखको जाँच गर्दछ, त्यसपछि छरछिमेकसँग परामर्श गर्दछ,” सीटी फर अल कार्यक्रमका संयोजक सइद सदुल्लाह वाहाबले बताउनुभयो ।
तर कुनै घरधनी नै फेला नपारे स्थानीय मस्जिदलाई पाँच वर्षका लागि प्रमाणपत्र दिइन्छ ।
“पाँच वर्षपछि पनि यदि कसैले दाबी नगरे जोताहा वा घरधनीलाई नै पूर्ण अधिकार सहितको प्रमाणपत्र उपलब्ध गराइन्छ,” उहाँले बताउनुभयो ।
छरछिमेकीलाई प्रश्न सोधिएपछि कुनै न कुनै व्यक्ति अघि आउँछ, चाहे त्यो व्यक्ति टाढा संयुक्तराज्य अमेरिका वा जर्मनीमा नै किन नहोस्, उहाँले थप्नुभयो ।
“छिमेकीहरुले त्यस्तो व्यक्तिलाई बोलाइहाल्छन् नि,” उहाँले मुस्कुराउँदै भन्नुभयो ।
वहाबको अनुसन्धान टोलीसँगै एएफपीका संवाददाता अर्को घरमा पनि गए । सलिम अहमद गत वर्ष तालिबानको आक्रमणमा मारिएका थिए । त्यही कारण उहाँका ज्वाइँ घरको बारेमा कुरा गर्न अघि सरेका थिए । तर त्यो घरजग्गा लिएको बारेमा कुनै आधिकारिक दस्तावेज उनीहरुसँग थिएन । घरजग्गाको दर्तासम्बन्धी ल्यामिनेट गरिएको कागजाताको कुनै बैधानिकता थिएन ।
युएन–ह्याबिटाटको टोलीले दस्तावेज, विद्युतको बिल, घरधनीको परिचयपत्रका साथै घरजग्गाको नापनक्साको अभिलेख राख्दछ । यही तथ्याँकलाई दर्ताका लागि प्रयोग गरिन्छ र त्यही आधारमा घरकर तोकिन्छ ।
राष्ट्रपति घानीले काबुलमा एक समारोहबीच पहिलो प्रमाणपत्र वितरण गरिसक्नुभएको छ । उहाँले हेरात र जलालाबादमा समेत यस्तो प्रमाणपत्र वितरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।
अफगानिस्तानको इतिहासमा पहिलोपटक यस्तो प्रमाणपत्र महिला र पुरुष दुबैलाई वितरण गरिरहेका छन् । हाल, राष्ट्रसंघीय कार्यालयका अनुसार घरजग्गाको स्वामित्व प्राप्त गर्ने महिलाको संख्या करिब पाँच प्रतिशत मात्र छ ।
युएन–ह्याबिटाटले यस परियोजनाका लागि एक हजार २०० लाई नियुक्त गरेको छ र सन् २०२० सम्मको अवधि रहेको यस परियोजनाको लागत करिब ६ करोड ३० लाख अमेरिकी डलर रहेको छ । परियोजनामा युएसएड र युरोपेली युनियनले लगानी गरेका छन् ।
वर्षौंदेखिको द्वन्द्व र कानुनबिहीनता पश्चात सञ्चालित यो परियोजनामा पनि समस्या छन् । मानिसहरुले घरजग्गाको कर तिर्नुपर्ने भएको छ । स्थानीयहरुले करको रकमको उपयोगिताका बारेमा प्रश्न उठाउने गरेका छन् ।
तर, स्थानीयबासीलाई राम्रोसँग कुरा बताएका कारण विस्तारै उनीहरु परियोजनाप्रति सकारात्मक हुन थालेका छन् । यही प्रमाणपत्रका आधारमा महिला, बुढाबुढीले मतदान गर्न पाउँछन् ।
वहाबका अनुसार नोभेम्बरसम्ममा १४ लाख अमेरिकी डलर सङ्कलन भइसकेको छ । काबुलको पुरानै घरतर्फ फर्कौं, सदिकको परिवारले ९० वर्षको इतिहासमा पहिलोपटक १२ डलर कर तिरेको छ ।
उहाँले भुक्तानी गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो । “उनीहरुले हाम्रा सडक सफा गर्दछन्, उनीहरुले फोहोर पानी तह लगाउँछन्, र हामी यहाँ एउटा क्लिनिक पनि खोल्न चाहन्छौं,” उहाँले आशा व्यक्त गर्नुभयो ।
