इदलिबमा ठूलो कारबाहीको योजना छैन : लाभरोभ
बर्लिन, जर्मनी, २९ भदौ : सिरियाली सरकारले विद्रोहीको पकड क्षेत्र मानिने उत्तरपश्चिम क्षेत्रमा रहेको इडलिब प्रान्तलाई लक्षित गरी कुनै ठूलो कार्बाहीको तयारी नगरेको रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले शुक्रबार बताउनुभएको छ ।
सिरियाली बसर अल–असद सरकारलाई लामो समयदेखि आर्थिक, राजनीतिक तथा हतियार सहयोग गर्दै आएको रूसका विदेश मन्त्रीको भनाई युद्ध हुने खबरले त्रसित बन्दै हजारौँ सिरियाली नागरिक इडलिबबाट पलायन भएका खबर आइरहेका समय आएको हो ।
बिहीबार मात्र प्रतिपक्षी समूहको पकड रहेको सिरियाली उत्तरपश्चिमी प्रान्त इडलिबमा सेप्टेम्बर १ पछिको १२ दिनको समयमा कम्तीमा ३८ हजार ५०० नागरिक विस्थापित भएको राष्ट्रसङ्घले जनाएको थियो ।
इरान र रूसको समर्थन प्राप्त सिरियाली सरकारी सुरक्षा फौजको हवाई तथा स्थल आक्रमणको भयले दुई हप्ताको समयमा दैनिक ठूलो सङ्ख्यामा नागरिकहरू विस्थापित हुने क्रम देखिएको राष्ट्रसङ्घको मानवीय सहयोग मामिला हेर्ने निकायले जनाएको हो ।
सेप्टेम्बर १ देखि १२ सम्मको समयमा विस्थापितको सङ्ख्या निकै ठूलो भएको र आक्रमणको त्रासमा घर छोड्ने सर्बसाधारणको सङ्ख्या दैनिक बढ्दो देखिएको राष्ट्रसङ्घको ठहर छ ।
सिरियाको इडलिब प्रान्त विपक्षीहरूको राम्रो पकड भएको क्षेत्र हो र पछिल्ला केही दिन यता सिरियाली फौजले उत्त क्षेत्रलाई लक्षित गरी व्यापक हवाई तथा स्थल आक्रमण थालेको छ ।
रूसी सहयोगमा केही दिन पहिले सिरियाली फौजले व्यापक हवाइ आक्रमणमा गरेको थियो ।
सञ्चारमाध्यमहरूमा आएजस्तो सिरियाको इडलिब प्रान्तमा रूसी सहयोगमा आक्रमण भएको भन्ने खबरमा विश्वाशिला आधारहरू नभएको लाभरोभले बर्लिनमा भएको जर्मन–रसियन फोरममा बताउनुभयो ।
उहाँले भन्नुभयो, “सिरियाली फौज र हामीले पनि इडलिबमा भएका आक्रमणविरुद्ध प्रतिकार गरेको हो आक्रमण गरेको होइन ।” उहाँले सिरियाली नागरिकको समस्याप्रति रूस प्रतिवद्ध रहेको बताउनुभयो ।
नागरिकका सुरक्षाका चासोका बिषयमा हामी ध्यान दिनेछौँ । विद्रोही नियन्त्रित स्थानहरूमा युद्धविराम क्षेत्रको घोषणा गरी मानवीय सहायताका लागि मार्ग प्रशस्त गरिने छ ।