लिबिया संकट बारे चार देशका नेताहरुको छलफल

मस्को, २८ पुस : लिबियामा बढ्दै गइरहेको संकटका बारेमा विभिन्न देशका नेताहरुका बीचमा छलफल भएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका उहाँका समकक्षी एम्यानुएल मर्कोनले आइतबार कुराकानी गर्नुभएको हो ।

टेलिफोनमा भएको कुराकानीका क्रममा उहाँहरुका बीचमा लिबिया संकट, युद्ध विरामको महत्वलगायतका विषयमा छलफल भएको रुसी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

कार्यालयद्धारा जारी वक्तव्यका अनुसार दुवै नेताहरुले लिबियाको संकट समाधानका लागि आ आफ्नो तर्फबाट सक्दो सहयोग गर्न तयार रहेको बताउनु भएको थियो ।

संकट समाधानका लागि राजनीतिक तथा कुटनीतिक तवरबाट पहल थाल्ने र जर्मनीको राजधानी बर्लिनमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने बारेमा पनि उहाँहरुले छलफल गर्नुभएको वक्तव्यमा नाइएको छ ।

पुटिन र मर्कोनले युक्रेनको द्वन्द्वका साथै इरान र सिरियाको पछिल्लो अवस्थाका बारेमा पनि कुराकानी गर्नुभएको थियो ।

यसअघि शनिबार पुटिन र जर्मन चान्सलर एञ्जेला मर्केलका बीचमा पनि कुराकानी भएको समाचारमा जनाइएको छ ।

त्यसैगरी जर्मनी चान्सलर मर्केलले टर्कीका राष्ट्रपति रेसेप तयप एर्डोगानसँग पनि लिविया संकटका बारेमा कुराकानी गर्नुभएको छ ।

आइतबार भएको फोन कुराकानीका क्रममा उहाँहरुले लिबियामा हालै विकसीत घटना क्रमका बारेमा छलफल गर्नुभएको टर्कीका सरकारी अधिकारीहरुले जनाएका छन् ।

उहाँहरुले क्षेत्रीय चासो र सरोकारका विषयमा पनि कुराकानी गर्नुभएको सरकारी निकायद्धारा जारी वक्तव्यमा जनाइएको छ ।

सम्झौतापछि त्रिपोलीको विमानस्थल पुनः सञ्चालनमा

गत हप्तादेखि अबरूद्ध रहँदै आएको लिबियाली राजधानी त्रिपोलीस्थित विमानस्थल सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । शक्तिशाली खलीफा हफ्तरको सेनाले त्रिपोली नियन्त्रणको लागि नौ महिना संघर्ष गरेपछि सम्झौता भएको हो ।

लिबियाको राष्ट्रिय ध्वजावाहक विमानले सोमबारदेखि नै त्रिपोली–मिटिगा आवतजावतका लागि उडान सञ्चालन गरिसकेको छ भने अन्य निजी कम्पनीहरूले पनि आफ्ना सेवालाई सञ्चालनमा ल्याएको बताए ।

लिवियाली शक्तिशाली सैनिक खलीफा हफ्तरको सेनाले राष्ट्रसंघद्वारा मान्यताप्राप्त राष्ट्रिय सहमतिको सरकारको राजधानी कब्जा गर्ने लक्षसहित त्रिपोली र वरपरका क्षेत्रमा गतिविधि बढाएपछि त्रिपोलीको विमानस्थल एक हप्तादेखि अवरूद्ध थियो भने गत अप्रिलपछि विद्रोहीले आक्रमण तीब्र बनाएपछि देशको अर्को प्रमुख मिटिगा विमानस्थल सञ्चालनमा कठिनाई भएको थियो । विमानहरूमा विद्रोहीको हवाई आक्रमण र रकेट हमलाको प्रभाव पर्ने भन्दै उक्त विमानस्थलमा लामो समयदेखि सेवा अवरूद्ध थियो ।

गत हप्ता विद्रोहीले नविकृत आक्रमणहरूसहित त्रिपोलीतर्फ बढेपछि अन्ततः राजधानी त्रिपोली जोड्ने विमान सेवा पनि बन्द भएका थिए ।

लिवियामा लामो समय शासन गरेका तानाशाह मोहमर गद्दाफीलाई सन् २०११ को जनविद्रोहपछि पदच्युत गरी हत्या गरिएको थियो । गद्दाफीको मृत्युपछि युद्धको लिवियामा युद्धको अन्त्य हुने आशा गरिएको भएपनि त्यसो हुनसकेन । फलतः रूसी मध्यस्थतामा सरकार र विद्रोही समूहले युद्धविराम गरी सोमबार वार्तामा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.