सुडानको पहाडी इलाकामा पहिरो, बीसको मृत्यु

खार्तुम, २८ भदौ : सुडानको युद्धग्रस्त क्षेत्र डार्फरको पहाडी इलाकामा भारी वर्षापछि गएको पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको एक विद्रोही समूहले बुधबार जानकारी दिएको छ ।

गत सेप्टेम्बर ७ मा डार्फरको जेबेल मार्रा क्षेत्रको पहाडी इलाकामा ठुल्ठूला ढुङ्गासहितको पहिरो झरेका कारण घरहरु पुरिएका र अरु कैयौं व्यक्ति पुरिएको आशङ्का गरिएको छ ।

डार्फरको जेबेल मर्रा क्षेत्र विद्रोही समूह ‘सुडान लिबरेसन आर्मी–अब्दुल वाहिद (एसएलए–एडब्लू)’ को नियन्त्रणमा रहेको छ । सोही कारण त्यहाँबाट स्वतन्त्र रुपमा सूचना प्राप्त गर्न पनि कठिन भएको अधिकारीहरुले बताएका छन् ।

शुरा परिषद्का महासचिव अमिन महमुद ओस्मानले खुला आकाशमुनि बस्न बाध्य मानिसहरुका लागि आश्रयस्थल उपलब्ध गराउन र हराइरहेका मानिसको खोजी गर्न राष्ट्रसङ्घ, गैर सरकारी संस्था एवं सुडान सरकार समक्ष आग्रह गर्नुभयो ।

सीमान्तकृत समुदायलाई बेवास्ता गरिएको आरोपमा सन् २००३ बाट डार्फरमा सुडान सरकारको विरोधमा विद्रोह सुरु भएको थियो । संयुक्त राष्ट्रसङ्घका अनुसार सुडानमा जारी पछिल्लो द्वन्द्वका कारण तीन लाखभन्दा बढीको मृत्यु भइसकेको छ ।

त्यसैगरी यस द्वन्द्वमा परी २५ लाखभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.