विपक्षी नेता जियालाई तत्काल रिहाइको माग गर्दै प्रदर्शन

ढाका, २५ भदौ : बङ्लादेशका विपक्षी नेता तथा पुर्वप्रधानमन्त्री खालिदा जियालाई तत्काल रिहा गर्न माग गर्दै हजारौँले सोमबार प्रदर्शन गरेका छन् ।
भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहनु भएकी जियाको रिहाइको मागगर्दै देशभरी प्रदर्शन भएको समाचारमा जनाइएको छ ।

बङ्लादेशमा तीन पटकसम्म प्रधानमन्त्री भइसक्नु भएकी ७३ बर्षीया जिया यसै बर्षको सुरुदेखि काराबासमा हुनुहुन्छ । जिया काराबासमा विरामी अवस्थामा भएको उहाँको दल तथा पारिवारिक स्रोतको दावी छ ।

एक जना प्रहरी अधिकारीका अनुसार राजधानी ढाकाको मुख्य भागमा रहेको नेशनल प्रेस क्लवको अगाडी प्रमुख विपक्षी दल बङ्लादेश नेशनलिष्ट पार्टी समर्थक झण्डै चार हजार जना सोमबारको प्रदर्शनमा सहभागी भएका थिए ।

तर विपक्षी दलका प्रवक्ता फक्रुल स्लाम अलाम्गीरले भने ढाकामा भएको प्रदर्शनमा मात्रै झण्डै २० हजार जना सहभागी भएको दावी गर्नुभयो । प्रदर्शनमा सहभागीहरुले जियालाई अवैध तरिकाले जेल हालिएकोले तत्काल रिहा गर्न माग गर्दै नारा लगाएका थिए ।

देशभरका प्राय सवै सहरहरुमा अरु हजारौले यस्तै प्रदर्शन गरेको समाचारमा जनाएको छ । “उहाँलाई गलत तरिकाले जेल हालिएको छ, उहाँलाई तत्काल रिहा गरियोस् र राम्रो अस्पतालमा उपचार गरियोस्,” विपक्षी दलका महासचिव अलाम्गीरले एएफपीसँग भन्नुभयो ।

पूर्व प्रधानमन्त्री जियालाई गत हप्ता ह्विल चियरमा राखेर अदालत लगिएको थियो । त्यहाँ उहाँले आफु एकदमै विरामी भएको र आफ्ना हात खुट्टाले काम गर्न नसकेको बताउनुभएको थियो । उहाँले त्यतिबेला भन्नुभएको थियो, “मैले न्याय पाउदिन भन्ने मलाई थाहा छ, तिमीहरुले आफुलाई मनलाग्दो शासन गर्न सक्छौ, मेरो हात खुट्टामा पक्षघात भएको छ ।”

एनटीभीबिडी डट कमले सम्प्रेषण गरेको समाचारमा बङ्लादेश नेशनलिष्ट पार्टीका प्रमुख जियाले थप्नुभयो, “तिमीहरुले जस्तो चाहन्छौ, त्यस्तैगरी मलाई कारबाही गर्न सक्छौ ।”  आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको उहाँले बताउदै आउनु भएको छ ।

बच्चाहरुका लागि विश्वभरबाट सङ्कलन गरिएको एक करोड ६१ लाख दुरुपयोगको अभियोगमा उहाँलाई अदालतले दोषी ठहर गरेको हो । अदालतले जियाका चार सहयोगीलाई पनि १० वर्षको जेल सजाय सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.