इडलिबमा भएको द्वन्द्वबारे टर्की र रूसको मतान्तर

तेहरान, २२ भदौ : सिरियाको इडलिबमा भएको द्वन्द्वका बारेमा टर्की र रूसले फरक फरक मत व्यक्त गरेका छन् ।

टर्कीले तत्काल युद्वविराम गर्न आह्वान गरिरहेका बेला रूसले भने आतङ्ककारीहरूलाई नियन्त्रणमा लिनु सिरियाको अधिकार भएको तर्क गरेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले इडलिबमा रूसी हवाई हमला भएपछि शुक्रबार युद्व विराम गर्न आह्वान गर्नु भएको हो । “यदि हामीले यहाँ युद्वविराम सुनिश्चित गर्न सक्याँै भने शिखर सम्मेलनका लागि यो एउटा महत्वपूर्ण कदम हुनेछ, यसलाई गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ,” इर्डोगानले भन्नुभयो । इरानको राजधानी तेहरानमा शुक्रबारबाट सुरु भएको शिखर बैठकको सुरुमा उहाँले यस्तो बताउनु भएको हो । इरान र रूसलाई दमास्कसका विषयमा मुख्य पक्ष मानिन्छ ।

सिरियाको इडलिबमा जारी द्वन्द्वको अन्त्य गरी त्यहाँ रहेका नागरिकको भविष्य सुरक्षित गर्ने उद्देश्यले तेहरानमा इरान, रसिया र टर्कीका राष्ट्रपतिहरूबीच बैठक सुरु भएको हो । यस शिखर बैठकले सिरियाको इडलिब प्रान्तमा गएको करिब दुई वर्षदेखि कब्जा जमाउँदै आएका विद्रोही र उनीहरूको कब्जामा रहेका सिरियाका अरू सर्वसाधारणका बारेमा छलफल गरी आवश्यक रणनीति बनाउने अपेक्षा गरिएको छ ।

तेहरानबाट शुक्रबार प्राप्त समाचारमा उक्त प्रान्तमा रहेका लडाकू र उनीहरूको नियन्त्रणमा रहेका नागरिकको भविष्यका बारेमा महत्वपूर्ण निर्णय लिने बताइएको छ ।
बैठकमा सहभागी रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने आफ्नो क्षेत्रलाई नियन्त्रणमा लिनु इरानको अधिकार भएको तर्क गर्दै आक्रमण जायज र आवश्यक रहेको सङ्केत गर्नुभयो ।

रूसको सहयोगमा सिरियाली सेनाले इडलिबमा आक्रमण गर्ने बताउँदै आएको छ । उक्त आक्रमणको तयारी भइरहेको पनि बुझिएको छ । यसै समयमा यो शिखर बैठक बसेको हो । सिरियामा गएको करीब सात वर्षदेखि सिरियाली विद्रोहीका कारण गृहयुद्ध मच्चिएको छ । ती विद्रोहीले पनि इडलिबलाई मुख्य अखडा बनाएका छन् । सन् २०१५ देखि त उनीहरूले उक्त शहर कब्जा नै गरेका थिए । इडलिबमा अहिलेकै अवस्थामा आक्रमण हँुदा ठूलो मानवीय क्षति हुने चेतावनी दिइएको छ । संयुक्त राष्ट्रसङ्घ लगायतका सङ्घसंस्थाहरूले पनि यहाँ हवाई आक्रमण नगर्न भनेका छन् ।

यहाँका विद्रोहीलाई टर्कीको समर्थन रहिआएको छ । त्यस्तै सरकारी सेनालाई छिमेकी रूस र इरानको समर्थन छ । त्यसैले पनि अहिलेकै अवस्थामा आक्रमण गरी उक्त शहरमा कब्जा गर्ने प्रयत्न सरकारी सेनाले गर्ने हो भने ठूलो मानवीय क्षति हुनसक्ने अनुमान सर्वत्र गरिएको छ ।

सन् २०१५ मा कब्जा गरिएको इडलिब र त्यस वरपरका इलाकामा मात्र करीब ३० लाख मानिस बस्छन् । तीमध्ये आधा जति नागरिक सिरियाका अन्य क्षेत्रबाट विस्थापित भएर आएका हुन् ।

विगतमा टर्की सरकारले सहायता दिएकाले यहाँ विद्रोहीको सङ्ख्या बढेको बताइएको छ । इडलिबको सीमा टर्कीसँग जोडिएको छ । त्यसैले पनि यहाँ टर्कीले सैनिक जाँच चौकीसमेत स्थापना गरेको छ ।

सिरियामा गृहयुद्ध जारी छ । सात वर्षसम्म यहाँ चलेको यस युद्धका कारण हालसम्म तीन लाख ५० हजारभन्दा बढीको ज्यान गइसकेको छ । यस युद्धका कारण एक करोड १० लाख मानिस विस्थापित छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.