भारतमा दृष्टि असमर्थतामा ५२ प्रतिशत सुधार
नयाँदिल्ली, २३ असोज : भारतमा हालै गरिएको अन्धोपनसम्बन्धी राष्ट्रव्यापी सर्वेक्षण (२०१५–२०१९) मा व्यक्तिको आँखाको दृष्टिसम्बन्धी असमर्थतामा ५२ प्रतिशतले सुधार आएको देखाएको छ ।
विश्व स्वास्थ्य संगठनले अन्धोपन निवारणमा २५ प्रतिशत सुधार गर्ने लक्ष्य राखेकामा त्योभन्दा निकै प्रगति भएको सर्वेक्षणमा उल्लेख छ ।
उक्त सर्वेक्षण अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)को सहयोगमा स्वास्थ्य मन्त्रालयले गरेको थियो । यस सर्वेक्षणमा २४ वटा राज्य तथा केन्द्र शासित प्रदेश समेटिएको थियो । सर्वेक्षणमा करिब १ लाख ११ हजार व्यक्तिको आँखा परीक्षण गरिएको थियो ।
सन् २००६–७ मा स्वास्थ्य मन्त्रालयले गरेको गरेको यस्तै सर्वेक्षणमा आँखाको समस्या भएका व्यक्तिको संख्या करिब ५.३० प्रतिशत थियो । पछिल्लो सर्वेक्षणले दृष्टिको अवस्थामा सुधार आई २.५५ प्रतिशत देखिएको छ ।
साथै दृष्टिविहीनताको अवस्थामा पनि ०.३६ प्रतिशतले कमी आएको छ जबकी २००६–७ मा यो ०.६८ प्रतिशत थियो ।
एम्सका डा अतुल कुमारका अनुसार विश्व स्वास्थ्य संगठनले सन् २०१९ सम्ममा दृष्टिको समस्यामा २५ प्रतिशतले कमी ल्याउने लक्ष्य राखेको जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य संगठनले अघिल्लो साता सार्वजनिक गरेको प्रतिवेदनमा विश्वभर करिब २ अर्ब २० करोड मानिसमा आँखाको ज्योति सम्बन्धी समस्या रहेको देखाएको छ । तीमध्ये करिब १ अर्ब मानिसको आँखाको उपचार सम्भव रहेको छ ।
