यमन युद्धसम्बन्धी हुथी विद्रोहीको प्रस्ताव सकारात्मक : साउदी अरेबिया

रियाद, १७ असोज : गृहयुद्धका कारण ठूलो संकट व्यहोरिरहेको यमनको मुख्य विद्रोही हुथी समूहले अघि सारेको शान्तिको प्रस्तावलाई छिमेकी मुलुक साउदी अरेबियाले सकारात्मक रुपमा लिइएको प्रतिक्रिया दिएको छ । साउदी अरेबियाले यमनी विद्रोहीले आफ्ना तर्फबाट प्रस्तावको कार्यान्वयन भएमा थप सहकार्य गर्न सकिने जनाएको छ ।

सन् २०१५ देखि साउदी अरेबियाको अग्रसरतामा बनेको गठबन्धनले हुथी विद्रोही विरुद्ध आक्रामक कारबाही गरिरहेको छ । साउदीले हुथी विद्रोहीलाई इरानले समर्थन गरेको आरोप लगाउँदै यमनमा अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त सरकारलाई खुलेर समर्थन गरिरहेको छ, तर यमनी सरकार मुलुकको राजधानी सानामा हुथीको कब्जा रहेकाले अन्यत्रबाट शासन सञ्चालन गरिरहेको छ ।

यस द्वन्द्वका कारण हजारौं व्यक्तिको मृत्यु भइसकेको छ । मारिएकाहरुमा अधिकांश व्यक्ति सर्वसाधारण नागरिक रहेको मानवीय सहायतासम्बन्धी निकायहरुले जनाएका छन् । राष्ट्रसंघले यमनमा मानवीय संकट नै उत्पन्न भएको बताइआएको छ ।

साउदी अरेबियाका उपरक्षामन्त्री राजकुमार खालिद बिन सल्मानले ट्वीट गर्दै यमनमा घोषणा गरिएको शान्तिकार्यलाई साउदी अरेबियाले सकारात्मक रुपमा लिएको र त्यसको व्यवहारिक कार्यान्वयन भएको साउदी अरेबियाले हेर्न चाहेको बताउनुभएको छ ।

गत सेप्टेम्बर २१ मा हुथी समूहले साउदी अरेबियासँग शान्ति कायम गर्न तयार रहेको घोषणा गरेका थिए । तर साउदी गठबन्धनका तर्फबाट निरन्तर हवाई आक्रमण भएपछि शान्तिको आशा टर्दै गएको थियो ।

साउदी अरेबियाले हुथी विद्रोहीको “कुरा होइन कार्य”का आधारमा मूल्याँकन गरिने स्पष्ट गरेको छ । सोमबार हुथी विद्रोहीहरुले डिसेम्बर २०१८ मा

राष्ट्रसंघको अगुवाईमा भएको शान्ति सम्झौता बमोजिम २९० जना युद्धबन्दीलाई मुक्त गरिएको बताएका थिए ।
राजकुमार खालिदले यमनमा उत्पन्न पछिल्लो परिस्थितिबाट इरानले लाभ लिन चाहेको आरोप लगाउनुभएको छ ।

हुथी विद्रोहीले गत सेप्टेम्बर १४ मा साउदी अरेबियाका दुई वटा तेल प्रशोधन कारखानामा भएको ड्रोन आक्रमणको जिम्मेवारी लिएको थियो । तर साउदी अरेबिया र संयुक्तराज्य अमेरिकाले यी दुबै आक्रमण हुथीले नभई इरानले गरेको आरोप लगाएका थिए । इरानले भने उक्त आरोपको खण्डन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.