बङ्लादेशमा बालश्रम निषेध गर्ने कानुनको मस्यौदा पारित

ढाका, १८ भदौ : बङ्लादेश सरकारले बालश्रम निषेध गर्ने कानूनको मस्यौदा सोमबार पारित गरेको छ ।

मस्यौदा कानूनमा बालश्रम गराउनेहरूलाई कडा दण्ड जरिवानाको प्रावधान राखिएको अधिकारीहरूले जानकारी दिएका छन् । प्रधानमन्त्री सेख हसिनाको अध्यक्षतामा बसेको मन्त्री परिषद् बैठकले सो मस्यौदा पारित गरेको मन्त्रीपरिषद् सचिव मोहम्मद शाफिउल अलामले संवाददाताहरूलाई जानकारी दिनुभयो ।

अहिले पारित भएको “बङ्लादेश श्रम (संशोधन) ऐन” को मस्यौदामा कानूनको बेवास्ता गरी कसैले बालबालिकालाई श्रममा लगाएमा ५००० टाँका अर्थात् ६० अमेरिकी डलर जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ । मस्यौदामा १४ बर्षदेखि १८ बर्ष सम्मका बालबालिकालाई भने सामान्य कामहरूमा लगाउन सकिने उल्लेख छ ।

अहिले लागु भइरहेको श्रम कानूनमा १२ बर्ष उमेर पुगेपछि सामान्य श्रममा लगाउन सकिने प्रावधान रहेको छ । बङ्लादेशका कारखानामा, घरेलुश्रमीकका रूपमा, व्यवसायिक प्रतिष्ठानमा र सडक बालबालिकाका रूपमा बाल श्रमिकहरूको सङ्ख्या बढ्दै गइरहेको सन्दर्भमा नयाँ कानून बनाउन लागिएको हो ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का अनुसार बङ्लादेशमा ३२ लाख बालबालिका श्रममा संलग्न रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.