तोङ्गाका प्रधानमन्त्रीको न्युजल्याण्डमा निधन
सुभ, २६ भदौ : ओसेनिया क्षेत्रमा पर्ने तोङ्गा देशका प्रधानमन्त्री अकिलिसीको पोहिभाको न्युजल्याण्डमा निधन भएको छ ।
सरकारी उच्च अधिकारीहरुले ७८ बर्षको उमेरमा आफ्नो देशका प्रधानमन्त्रीको निधन भएको स्थानीय समय अनुसार बिहीबार राति पुष्टि गरेका छन् ।
तोङ्गाको लोकप्रिय अनलाईन माताङ्गी तोङ्गाका अनुसार तोङ्गाका कार्यबहाक प्रधानमन्त्री सेमिसी सिकाले राष्ट्रिय रेडियो मार्फत् प्रधानमन्त्री पोहिभाको निधन भएको जानकारी दिनुभएको हो ।
उहाँले प्रधानमन्त्रीको निधन न्युजल्याण्डको अकल्याण्डस्थित एक अस्पतालमा बिहीबार विहान भएको पनि जानकारी दिनुभयो ।
उहाँ सन् १९८७ मा तोङ्गाको संसदमा निर्वाचित हुनुभएको थियो भने सन् २०१४ मा प्रधानमन्त्री बन्नुभएको थियो ।
प्रधानमन्त्री पोहिभा विगत लामो समयदेखि विरामी हुनुभएको थियो । प्रधानमन्त्रीको कार्यालयले गत बुधबार वक्तव्य मार्फत् प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्न आह्वान गरेको थियो । तर उहाँको बिहीबार निधन भयो । उहाँलाई न्युजल्याण्डमा निमोनियाको उपचार गराइएको थियो ।
फिजिका प्रधानमन्त्री भोरेक बैनीमारामाले तोङ्गका आफ्ना समकक्षीको निधनप्रति बिहीबार नै गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
अरु देशका प्रधानमन्त्री तथा राष्ट्रपतिहरूले पनि उहाँको निधनप्रति शोक व्यक्त गर्दै आफन्त र तोङ्गका जनताप्रति समवेदना व्यक्त गरेका छन् ।
