घनघोर बर्षापछि दिल्लीमा डुबान

नयाँ दिल्ली, भारत, १७ भदौ : भारतको राजधानीमा परेको घनघोर बर्षाका कारण यहाँका केही भागमा डुवान हुँदा दिल्लीको यातायातलगायतका दैनिक जनजीवन कष्टकर बनेको छ ।

दिल्ली र वरपरका क्षेत्रमा विगत केही दिनदेखि व्यापक वर्षा भएको र यसका कारण राजधानी र वरपरका केही वस्तीहरूसमेत डुवानमा परेका छन् । डुवानले खास गरी यातायात सेवालाई प्रभावित तुल्याएको छ । डुवानपछि नगरका अधिकारीले भल निकासका लागि कमजोर संयन्त्र बनाएको भन्दै एक आपसमा आरोप प्रत्यारोप गरेका छन् ।

भारतीय मौसम विज्ञान विभाग (आइएमडी) ले आगामी दुई दिनसम्म बर्षा भइरहने जनाएको छ । आइएमडीले हरियाणा, चण्डीगढ, दिल्ली र वरपरका क्षेत्रमा विशाल बर्षा हुने जनाएको छ । बर्षाको प्रभाव दुईदिनपछि बिस्तारै कम हुने विभागले जनाएको छ ।

शनिबारको बर्षापछि यमूना बजारमा डुबान हुँदा करिब ३० जना अलपत्र परेको जनाइएको छ । उनीहरू यात्रा गरिरहेको बस सडकमा जम्मा भएको पानीका कारण बिग्रिएपछि उनीहरूलाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.