भाजपाको नयाँ राष्ट्रिय अध्यक्ष डिसेम्बरमा चुनिने
नयाँ दिल्ली, १२ भदौ : भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को नयाँ अध्यक्षको चयन आगामी डिसेम्बरमा हुने भएको छ ।
पार्टीका कार्यबाहक अध्यक्ष जेपी नाड्डाले निर्वाचनमार्फत् डिसेम्बरमा नयाँ अध्यक्षको चयन हुने बिहीबार जानकारी दिनुभएको हो ।
आउँदो अक्टोबर १० देखि ३० तारिखसम्ममा पार्टीको बुथस्तरीय निर्वाचन हुने तय भएको उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “जिल्ला समितिको निर्वाचन भने नोभेम्बरमा र राज्यस्थरको निर्वाचन त्यसपछि हुने तय भएको छ ।”
पार्टीको महाधिवेशन डिसेम्बर महिनामा गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । अहिलेका अध्यक्ष अमित शाह केन्द्रीय गृह मन्त्री भएपछि नयाँ अध्यक्ष चयन गर्नुपर्ने भएको हो । उहाँ सन् २०१४ देखि पार्टीको अध्यक्ष हुनुभएको थियो ।
