पुर्व केन्द्रीय वित्त मन्त्री चिदम्बरमलाई पाँच दिन सिविआईको थुनामा राखिने
नयाँ दिल्ली, ५ भदौ : भारतको केन्द्रीय अन्वेषण विभागको विषेश अदालतले पुर्व केन्द्रीय वित्त मन्त्री पि चिदम्बरमलाई थुनामा राख्न अनुमति दिएको छ ।
उहाँलाई यही अगस्ट २६ तारिखसम्म अन्वेषण विभाग (सिविआई)को थुनुवा कक्षमा राख्न बिहीबार अनुमति दिइएको हो ।
चिदम्बरम्लाई दुरसञ्चार सेवासम्वन्धी एउटा परियोजनामा अनियमितता गरेको आरोप लगाइएको छ । उहाँलाई बुधबार नयाँ दिल्लीस्थित आफ्नै निवासबाट सिविआईको टोलीले गिरफ्तार गरेको हो ।
अदालतले चिदम्बरमलाई हरेक दिन ३० मिनेट परिवारजन र वकिलहरूले भेट्न पाउने व्यवस्था गर्न पनि अनुमति दिइएको छ ।
सिविआईका न्यायधिवक्ता जनरल तुशार मेहताले चिदम्बरमलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै अदालतमा निवेदन दिनुभएको थियो ।
उहाँको माग अनुसार अदालतले पाँच दिने म्याद दिएको हो । दिल्लीस्थित उच्च अदालतले चिदम्बरमको जमानतको प्रस्ताव अस्वीकार गरेको एक दिनपछि उहाँलाई पक्राउ गरिएको हो ।
चिदम्बरमका वकिलहरूले भने उहाँमाथी राजनीतिक प्रतिशोधका आधारमा भ्रष्टाचारको आरोप लगाएको दावी गरेका छन् ।
दुई पटकसम्म भारतको अर्थमन्त्री भइसकेका चिदम्बरम अहिले विपक्षी काङ्ग्रेस पार्टीको वरिष्ठ नेता हुनुहुन्छ भने सन् १९८४ देखि सांसद र एक पटक गृहमन्त्री पनि हुनुभएको थियो ।
सन् २००७ मा अर्थमन्त्री हुँदा घुस खाएर विदेशी लगानीलाई बाटो खोलिदिएको आरोप पनि उहाँलाई लगाइएको छ । अनुसन्धानकर्ताहरुले उहाँका छोरा कार्ती चिदम्बरममाथि पनि अनुसन्धान गरिरहेका छन् ।
