सम्झौतासहित ब्रेक्जिटको चर्चासँगै पाउण्ड स्टर्लिङ बलियो बन्ने सङ्केत

लण्डन, ५ भदौ : बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यूरोपका प्रभावशाली मुलुकहरू जर्मनी र फ्रान्सका नेताहरूसँग सम्झौतासहितको ब्रेक्जिटका लागि आफू सकारात्मक रहेको तर सम्झौता दुवै पक्षको हितमा हुनुपर्ने बताएसँगै बेलायतको पाउण्ड स्टर्लिङको मूल्यमा बिहीबार नै यसको सकारात्मक प्रभाव देखिएको छ ।

फ्रान्सको राजधानी पेरिसमा यूरोपेली नेताहरू एन्गेला मर्केल र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँसँग भएको कुराकानीमा ब्रेक्जिटका लागि अझै निकै दिन बाँकी रहेकाले झण्डै एक महिनाको अवधिमा धेरै सम्झौताका लागि सम्भावना रहेकोे भनाईसँगै पाउण्ड स्टर्लिङ बलियो बन्ने आशा पलाएको हो ।

स्रोतका अनुसार बिहीबार पाउण्डस्टर्लिङको मूल्यमा अस्थायीरूपमा एक प्रतिशतको सुधार देखिएको छ । दिउसो २ ः१५ बजे पाउण्डको मूल्यमा शुन्य दशमलब ८५ प्रतिशतले सुधार देखिएको हो ।

यसरी बिहीबार अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि हुँदा पाउण्डको मूल्य एक दशमलब २२३३ डलर माथि पुगेको हो । त्यस्तै पाउण्डको मूल्य यूरोसँगको कारोबारमा पनि शुन्य दशमलब ८४ प्रतिशतले वृद्धि भई एक यूरो बराबर ९० दशमलब ६३ पेन्स कायम भएको छ ।

यो विगत तीन हप्ता यता पहिलो पटक देखिएको सुधारको सङ्केत हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.