जापानका सबैभन्दा ज्येष्ठ नागरिकको ११७ वर्षको उमेरमा निधन

जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको ११७ वर्षको उमेरमा निधन भएको छ ।

जापानको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले उहाँको गत आइतबार निधन भएको बिहीबार जानकारी दिएको हो । सन् १९०१ को मे २ तारिखमा जन्मिनु भएका मियाको गत अप्रिलदेखि जापानको सबैभन्दा ज्येष्ठ नागरिक हुनुहुन्थ्यो ।

गत अप्रिलमा ११७ वर्षकै उमेरमा नावि ताजिमाको निधन भएको थियो । आइतबार निधन हुनु भएकी मियाको संभवतः संसारकै सबैभन्दा ज्येष्ठ नागरिक भएको अनुमान गरिएको थियो ।

उहाँको निधनपछि जापानमा अब सबैभन्दा ज्येष्ठ नागरिक काने तानाका बन्नुभएको मन्त्रालयले जनाएको छ । तानाकाको जन्म सन् १९०३ जनवरी २ तारिखमा भएको थियो । उहाँ अहिले ११५ वर्षको हुनुभएको छ ।

जापानकै सबैभन्दा ज्येष्ठ पुरुष भने ११३ वर्षका मासाजो नोनाका बन्नुभएको छ । उहाँलाई विश्वकै सबैभन्दा ज्येष्ठ पुरुष मानिन्छ । उहाँको नाम गिनिज बुकमा पनि विश्वकै सबैभन्दा ज्येष्ठ पुरुषको रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.