बिष्फोटबाट अफगानी राष्ट्रपतिका सहयोगी सालेहको कार्यलयमा क्षति
काबुल, अफगानिस्तान, ११ साउन : अफगानी राष्ट्रपतिका सहयोगी अम्रूल्लाह सालेहको पार्टी कार्यालयमा आइतबार विस्फोट भएको छ ।
विस्फोटपछि कार्यालयमा छिरी भएको आक्रमणमा परी कम्तीमा १३ जना घाइते भएका अफगानी अधिकारीले जनाएका छन् । आक्रमण समाचार तयार पार्दासम्म जारी रहेको बताइएको छ ।
“स्थानीय समय अनुसार दिउसो करिब ४ बजेर ४० मिनेट जाँदा सालेहको ‘ग्रीन ट्रेन्ड’ कार्यालय नजिकै पहिलो विस्फोट भएको थियो । विस्फोटपछि केही आक्रमणकारी उक्त कार्यालयमा प्रवेश गरेका थिए,” अफगानिस्तानका गृहमन्त्रालयका प्रवक्ता नसरत राहिमीले बताउनुभयो ।
“समाचार तयार पार्दासम्म सुरक्षाकर्मीले आक्रमणकारीलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको र उक्त घटनामा अहिलेसम्म १३ जना घाइते भएका छन् ।”
सालेह अफगानी ग्रीन ट्रेन्ड पार्टीका नेता हुनुहुन्छ भने उहाँले राजनीतिमा प्रवेश गर्नुपहिले अफगानिस्तानको गुप्तचर संस्थाको प्रमुखका रूपमा सेवा गरेका बताइएको छ । आक्रमणबाट सालेहलाई भने चोट नलागेको बताइएको छ ।
