क्यालिफोर्नियामा पराकम्पन आउने क्रम जारी

क्यालिफोर्निया, संयुक्तराज्य अमेरिका, २१ असार : संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा राज्यमा गत बिहीबार बिहान सबैरै आएको शक्तिशाली भूकम्पपछि पराकम्पनहरु आउने क्रम जारी रहेको अधिकारीहरुले जनाएका छन् ।

करिब २५ वर्षपछि क्यालिफोर्नियाको दक्षिणी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गत बिहीबार शक्तिशाली भूकम्प आएको थियो ।
सो भूकम्पपछि अरु कैयौँ शक्तिशाली पराकम्पनहरु आउनसक्ने अनुमान यहाँका भौगर्भिक क्षेत्रका अधिकारीहरुले गरेका थिए ।

अमेरिकन भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार अमेरिकाको क्यालिफोर्नियाको पश्चिमी क्षेत्रमा पर्ने सेरालेस उपत्यकालाई केन्द्रबिन्दु भएर ५.४ रेक्टर स्केलको पराकम्पन आएको छ ।
बिहीबार साँझको सो पराकम्पनपछि नागरिकहरुमा भागदौड भएको र परिस्थिति असामान्य बन्न पुगेको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् ।

गत बिहीबारको भूकम्प ६.४ रेक्टर स्केलको थियो । त्यसयता करिब ८० ओटा पराकम्पनहरु आएको क्यालिफोर्नियाबाट प्राप्त समाचारमा जनाइएको छ ।
दुइ दशकभन्दा लामो समयपछि पहिलो पटक क्यालिफोर्नियामा आएको यस भूकम्पबाट करिब दुई करोडको बस्ती रहेको क्यालिफोर्नियाका मानिसमा त्रास छाएको समाचारमा जनाइएको छ ।

तर यसबाट भौतिक तथा मानवीय ठूलो मात्राको क्षति भने पुगेको छैन । केही मानिस घाइते भएका समाचारमा आएको छ ।
भूकम्पका कारण ग्याँसको पाइपलाइन फुटेर बाहिर निस्किएको र यसबाट आगलागी भएपछि केही घर जलेका उद्धारकर्मीहरुले जनाएका छन् ।

उनीहरुकाअनुसार उद्धारको काम जारी छ । अहिलेसम्म त्यस्तो ठूलो क्षतिको खबर प्राप्त नभएको शुक्रबार दिइएको जानकारीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.