यमनमा आठ हुथी विद्रोही मारिए
अडेन, यमन, ११ असार : सरकारी सेनासँगको झडपमा परी यमनमा कम्तीमा आठ हुथी विद्रोही लडाकू मारिएका छन् ।
देशको दक्षिणपश्चिमी तैज प्रान्तमा बुधबार भएको झडपका क्रममा अरु दर्जनभन्दा बढी घाइते पनि भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
राज्यद्वारा सञ्चालित समाचार संस्था एसएनएले जनाएअनुसार सरकारी सेनाले हुथी विद्रोहीविरुद्ध आक्रमण गरेको हो ।
आक्रमणका क्रममा सरकारी सेनातर्फ कुनै क्षति भएको वा नभएको बारेमा भने सैन्य पक्षले कुनै जानकारी दिएको छैन ।
हुथी विद्रोहीको तर्फबाट पनि घटनाका बारेमा कुनै प्रतिक्रिया नआएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।
साउदी अरब नेतृत्वको गठबन्धनको सहयोगमा यमनी सेनाले हुथी विद्रोहीविरुद्धको आक्रमणलाई तिव्रता दिएको छ ।
