कंगोको हिंसा भड्किएपछि लाखौं पलायन

जेनेभा, ३ असार : अफ्रिकी मुलुक कंगोमा विगत दुई सातादेखि भड्किएको अन्तर–जातीय हिंसाका कारण हजारौं व्यक्ति अन्यत्र पलायन भएको राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघीय शरणार्थी सम्बन्धी निकाय (युएनएचसिआर)ले कंगोको इटुरी प्रान्तमा भड्किएको हिंसा निकै संवेदनशील अवस्थामा पुगेको जनाएको छ । यही जुन महिनाको शुरुदेखि इटुरी प्रान्तका हेमा र लेन्डु जातिबीच एकअर्कामाथि आक्रमण भइरहेका छन् ।

जेनेमा आयोजित पत्रकार सम्मेलनमा युएनएचसिआरका प्रवक्ता बाबर बालोखले हिंसाका कारण करिब तीन लाख मानिस विस्थापित भएको जानकारी दिनुभयो । उहाँले तत्कालै कुनै कदम नचालिए यो हिंसा अझ ठूलो क्षेत्रमा फैलन सक्ने चेतावनी दिनुभयो ।

इटुरीका गभर्नर जाँ बामानिसा सैदीले हिंसाबाट विस्थापितको संख्या चार लाखको हाराहारीमा पुगिसकेको बताउनुभयो । उहाँले विस्थापितको सुरक्षा र हिंसा रोक्ने कार्य निकै जटिल बनेको बताउनुभयो ।

गत साता स्थानीय अधिकारीहरुले इटुरीमा एक दुई दिनकै अन्तरालमा ५० जनाभन्दा बढीको हत्या भएको बताएका थिए । अरु स्रोतले हिंसाका कारण ७० जनाभन्दा बढीको ज्यान गएको बताएका छन् ।

दुई जातीय समुदायबीच हिंसा भड्किनुको खास कारण अझै स्पष्ट हुन सकेको छैन । तर सन् १९९९ देखि २००३ को बीचमा यिनै दुई समुदाय हेमा र लेन्डुबीचको हिंसाका कारण दशौं हजारको ज्यान गएको थियो ।

सन् २०१७ र २०१८ मा यी दुई जातिबीचको द्वन्द्वका कारण करिब ३ लाख ५० हजार विस्थापित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.