इटाली र पाकिस्तानी नागरिक बेपत्ता
इस्लामाबाद, ३ असार : पाकिस्तानको करिब ५ हजार ३०० मिटर अग्लो घिजार उपत्यकामा हिउँ पहिरोमा परेर चार जना इटालेली र दुई जना पाकिस्तानी नागरिक बेपत्ता भएका छन् ।
अस्कारी एभिएसनका एक जना अधिकारीका अनुसार हिमाल आरोहणका क्रममा बेपत्ता भएका उनीहरुको खोजी तथा उद्धारका लागि सेनाका दुईवटा हेलिकप्टर
परिचालन गरिएको छ ।
अल्पाइन क्लब पाकिस्तानका एक अधिकारी करार हैदारीले इस्कोमान पर्वत आरोहण गरेर फर्कनेक्रममा हिउँ पहिरोमा सात जना परेको र उनीहरुको खोजी भइरहेको जानकारी दिनुभयो । उहाँले उक्त दुर्घटनामा एक जना पाकिस्तानीको भने मृत्यु भएको बताउनुभयो ।
हैदारीले बेपत्ता भएका व्यक्तिहरुसँग भूउपग्रह मार्फत सञ्चार सम्पर्क भइरहेको र उनीहरु निकै नै चोटग्रस्त रहेको खबर प्राप्त भएको पनि जानकारी दिनुभयो ।
पाकिस्तान–इटाली मैत्रीपूर्ण आरोहण नाम दिइएको यस आरोहणमा पाकिस्तानी विद्यार्थीहरु, एक जना ट्राभल गाइड र इटालीका आरोही रहेका छन् । उक्त टोली गत जुन २ तारिखमा हिमाल आरोहणका लागि प्रस्थान गरेको थियो ।
बेपत्ताहरुको खोजी कार्य सोमबार अपराह्नदेखि नै शुरु भएको थियो । तर खराब मौसमका कारण खोजी कार्य स्थगित गरिएको थियो ।
पाकिस्तानको उत्तरी क्षेत्र हिमाल आरोहण र साहसी पर्यटनका लागि निकै प्रख्यात रहेको र त्यहाँ बर्सेनि ठूलो संख्यामा पर्यटकहरु आउने गर्दछन् ।
