सुडानका पूर्व राष्ट्रपति बसिर आगामी साता अदालतमा उपस्थित हुने
खार्तूम, सुडान, ३२ जेठ : सुडानका पूर्व राष्ट्रपति ओमार अल बसिरलाई भ्रष्टाचार आरोपबारे सुनुवाईका लागि आगामी साता अदालतमा उपस्थित हुने शनिबार यहाँका अधिकारीले जानकारी गराएका छन् ।
सुडानी कार्यबाहक महाअभियोजक अल वालीद सैयदले भन्नुभयो, “सुडानमा भ्रष्टाचार र अवैधरूपमा विदेशी मुद्रा आर्जन गरेको आरोप अदालतमा परेकोले यसबारे सुनुवाईका लागि उहाँलाई अदालतमा उपस्थित हुन निर्देशन दिइएको छ ।”
तर उहाँलाई कुन दिन उपस्थित गराउने भन्नेबारे सुडानी अधिकारीले थप विवरण भने दिएका छैनन् ।
लामो समयसम्म देशमा भ्रष्टाचार विरोधी आन्दोलन र महङ्गीको विरोधमा सुडानी जनताले गरेको प्रदर्शनपछि गत अप्रिलमा सुडानी सैनिक जनरल अब्देल फताह अल बुर्हानल ३० बर्ष सुडानमा नेतृत्वमा रहेका बसिरलाई े सेनाको सहयोगमा पदच्युत गर्नुभएको थियो ।
सैनिक शासक बुर्हानका अनुसार बसिरलाई पदच्युत गरेपछि उहाँको घरबाट ११ करोड ३० लाख अमेरिकी डलर बराबरको विभिन्न तीन विदेशी मुद्रा जफत गरिएको थियो ।
प्रहरी, सेना र सुरक्षा अधिकारीले उहाँसँगबाट ७० लाख यूरो, तीन लाख ५० हजार अमेरिकी डलर र १० करोड ५० लाख अमेरिकी डलर बराबर सुडानी पाउन्ड जफत गरेका बुर्हानले बताउनुभयो ।
