लालु यादवविरुद्ध आरोप–पत्र
पटना, बिहार, ८ भदौ : राष्ट्रिय जनता दल (आरजेडी) का अध्यक्ष लालु यादबविरुद्ध ‘द इन्सफोर्समेन्ट डाइरेक्टरेट’ ले रेलमार्ग ठेक्का प्रकरणमा दोषी रहेको दावी गर्दै शुक्रबार आरोप–पत्र दर्ता गरेको छ ।
यादव, उहाँकी पत्नी राब्री देवी तथा उहाँहरूका कान्छा छोरा तेजस्वी यादवसहित १३ जनाविरुद्ध उक्त ठेक्का प्रकरणमा दोषी दावी गर्दै आरोप पत्र दर्ता गरिएको हो ।
झारखण्ड उच्च अदालतले पूर्व रेलमन्त्री यादवद्वारा औषधी उपचार धरौटी जमानतका लागि गरेको निवेदनलाई अस्वीकार गरेको केही घण्टामा यो कदम आएको हो । उच्च अदालतले अगस्ट ३० सम्ममा आत्मसमर्पण गर्न आदेश दिएको छ ।
लालुको वकील प्रभात कुमारले एएनआईसँग भन्नुभयो, “मुम्बई एसियन हार्ट इन्टिच्युट (एएचआई) मा उपचाररत बिहारका पूर्व मुख्यमन्त्रीसमेत रहेका यादवलाई पहिले अस्पतालबाट फिर्ता ल्याइनेछ उहाँ (लालु) ले अब ‘राजेन्द्र इन्टिच्युट अफ मेडिकल साइन्सेस (आरआइएमएस)’ राँचीमा उपचार गराउनुहुनेछ ।”
यादवको स्वास्थ्यमा समस्या देखिएपछि गत सोमबार उहाँलाई एएचआईमा भर्ना गरिएको थियो । उहाँलाई उपचारका लागि गत मे महिनामा छ हप्ताका लागि जमानत दिइएको थियो । जसलाई पछि अगस्ट ३० सम्मका लागि थप गरिएको थियो ।
गत बर्ष (सन् २०१७) को जुलाईमा केन्द्रीय अनुसन्धान विभाग (सिविआई)ले लालु, उहाँकी पत्नी राब्री तथा तेजस्वीलगायतका केही व्यक्तिविरुद्ध सन् २००४ देखि २००९सम्म यादव रेलमन्त्री रहेको समयमा आफ्नो पक्षको एक नीजि होटेल कम्पनीको अनुकुलमा निर्णय गरेको आरोपमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको थियो ।
सिबिआइले उक्त समय भएका विकास, मर्मत र राँची तथा पुरीस्थित बिएनआर होटेलहरू सञ्चालनसम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोप लगाएको छ ।
