पार्कको कारावास अवधिमा वृद्धि
सोल, ८ भदौ : दक्षिण कोरियाको एउटा पुनरावेदन अदालतले पूर्व राष्ट्रपति पार्क गुन हेलाई कारावासको अवधि बृद्धि गरिदिएको छ ।
विभिन्न भ्रष्टाचारका घटनामा उहाँको संलग्नता रहेको पुष्टी भएको भन्दै अदालतले उहाँलाई थप एक बर्ष जेल सजाय बढाइदिएको हो ।
गत अप्रिल ६ तारिखका दिन तल्लो अदालतले ६६ बर्षीया पार्कलाई २४ बर्ष जेल सजायको फैसला गरेको थियो ।
उहाँलाई राज्यका श्रोत साधन र पद तथा शक्तिको दुरुपयोग गरेको र विभिन्न अनियमितताका काण्डमा संलग्नता रहेको भन्दै अदालतले जेल सजाय तोकेको थियो । उहाँलाई जेल सजायसँगै १८ विलियन जरिवाना पनि तोकिएको थियो ।
शुक्रबार भएको फैसलाबाट उहाँलाई एकातर्फ थप एक बर्ष जेल सजाय थपिएको छ भने अर्काेतर्फ २० अर्ब जरिवाना पनि तिराउन भनिएको छ ।
अभियोजनकर्ताहरूले भने उहाँलाई ३० बर्ष जेल सजाय र ११८.५ विलियन जरिवाना गराउनु पर्ने माग गरेको योन्ह्याप समाचार संस्थाले जनाएको छ ।
अदालतले पार्ककी लामो समयदेखिकी साथी चोइ सुनसिललाई पनि जरिवाना बढाएर १८ विलियनबाट २० विलियन पुर्याएको छ ।
पार्क राष्ट्रपति हुँदा उहाँको मुख्य नीतिगत सल्लाहकार रहेका अहन जोङ बेओमको कारावास समय एक बर्षबाट बढाएर पाँच बर्ष बनाइएको छ ।
गत सन् २०१६ को डिसेम्बरमा उहाँ दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपतिका रूपमा संसदबाट निर्वाचित हुनुभएको थियो । तर गत बर्षको मार्चमा अदालतको आदेशमा उहाँको बहिर्गमन भएको थियो ।
