शंकास्पद जिहादीले घरहरु, गिर्जाघर जलाए
क्यामरुन, ३० बैशाख : क्यामरुनमा सक्रिय कट्टरपन्थी मुस्लिम समूह बोको हरामसँग आबद्ध सशस्त्र समूहले दर्जनौं घर, पसल र एउटा गिर्जाघरमा आगजनी गरेका छन् ।
सुरक्षाफौज तथा प्रत्यक्षदर्शीका अनुसार यसै साताभित्र उत्तरी क्यामरुनको गोशी शहरमा बोको हराम समूहले आक्रमण गरेको जनाएका छन् ।
स्थानीयको विरोधका कारण एकजना आक्रमणकारी समेत मारिएको प्रहरीले जनाएको छ ।
शनिबार राति करिब १०० जनाको सशस्त्र समूहले गाउँमा आक्रमण गरेको थियो । उनीहरुले करिब ६० वटा घर जलाइदिएका थिए ।
बोको हरामको दशकौं लामो आन्दोलनका कारण करिब २७ हजारको ज्यान गइसकेको छ भने १८ लाख घरबारविहीन भएका छन् । बोको हरामको प्रभाव हाल नाइजर, चाड र क्यामरुनमा फैलिएको छ ।
गत अप्रिल १९ मा पनि बोको हरामका लडाकूहरुले क्यामरुनको उत्तरी क्षेत्रमा आक्रमण गरी ११ जना सर्वसाधारणको हत्या गरेका थिए ।
