यमनलाई कुवेती सहयोग
कुवेत, २१ बैशाख : कुवेत रेडक्रस सोसाइटी (केआरसिएस) ले शनिबार यमनलाई खाद्य सहयोग गरेको छ ।
केआरसिएसका महानिर्देशक अब्दुलरहमान अल–औनले विस्थापित भएका करिब सात हजार यमनीमध्ये एक हजारले उक्त खाद्यान्न सहयोग प्राप्त गर्ने बताउनुभयो । यो खाद्य सहयोग सेयुन, तारिम, अल–क्वात, आस साबाम र साह जिल्लाका नागरिकले प्राप्त गर्नेछन् ।
महानिर्देशक अल–औनले सबै दाताप्रति आभार प्रकट गर्दै यसले यमनी जनताको दुःखपीडामा सानो भएपनि मल्हम लगाउन मद्दत गर्ने बताउनुभयो ।
उहाँले यमनी जनतालाई अहिले मानवीय सहयोगको अति जरुरी रहेको बताउँदै यसमा सहयोग गर्न सबै व्यक्ति तथा संस्थाहरुलाई आग्रह पनि गर्नुभयो ।
