मोदीका प्रतिद्वन्द्वीको उम्मेदवारी रद्द

नयाँ दिल्ली, १८ वैशाख : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग वाराणसी निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न महागठबन्धनका तर्फबाट तेजबहादुर यादवले दर्ता गराएको उम्मेदवारी रद्द भएको छ ।

आधारभूत केही प्रक्रिया पूरा नभएको भन्दै बुधबार उहाँको उम्मेदवारी निर्वाचन आयोगबाट अस्वीकृत भएको हो ।

शुरुमा स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराउनु भएका यादवले त्यसपछि तीन वटा क्षेत्रीय पार्टी समाजवादी पार्टी, बहुजन समाज पार्टी र राष्ट्रिय लोक दलले उत्तर प्रदेशमा बनाएको महागठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

भारतको वाराणसी निर्वाचन क्षेत्रलगायत केही निर्वाचन क्षेत्रमा मे १९ तारिखका दिन मतदान हुने तय भएको छ ।

गत अप्रिल ११ तारिखदेखि शुरु भएको सात चरणको निर्वाचनमध्ये मे १९ मा अन्तिम तथा सातौँ चरणको मतदान हुने भएको हो ।

उम्मेदवारी रद्द भएका यादव केही वर्ष अगाडि भारतको सीमा सुरक्षा बल (बीएसएफ)बाट बर्खास्त भएका व्यक्ति भएको बताइएको छ । उहाँले त्यतिबेला सेवाग्रहीलाई राम्रोसँग सेवा नदिएको जस्तो बुझिने भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

सीमा सुरक्षा बलमा रहेकै बेला उहाँलाई भ्रष्टाचारको आरोप लागेको पनि अधिकारीहरूले बताएका छन् ।

त्यतिबेला उहाँको छवि राम्रो नरहेको विवरणहरू सार्वजनिक भएका छन् ।

उम्मेदवारी रद्द भएपछि बुधबार उहाँले आफूलाई अन्याय भएको र न्यायका लागि अदालत जाने बताउनुभएको छ ।  षड्यन्त्रपूर्व तरिकाले आफ्नो उम्मेदवारी रद्द गरिएको यादवको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.