सेनालाई नचिड्याउन सुडानका विपक्षी नेताको आग्रह
सुडान, १८ वैशाख : सुडानको प्रमुख विपक्षी दलका प्रमुख नेताले सुडानी सेनालाई नचिड्याउन बुधबार आग्रह गर्नुभएको छ ।
प्रमुख विपक्षी दल नेशनल उम्मा पार्टीका प्रमुख साद्दिक अल–मेहदीले एएफपीलाई दिएको अन्तर्वातामा यस्तो आग्रह गर्नुभएको हो ।
सैन्य परिषद्मार्फत सरकारको नेतृत्व गरेको सुडानी सेनासँग अहिले आन्दोलनकारीहरूको तर्फबाट वार्ता भइरहेकाले सेनालाई नचिड्याउन उहाँले अन्तरवार्ताका क्रममा आग्रह गर्नुभएको छ ।
सुडानको सैन्य परिषद्का विरुद्धमा आन्दोलन चर्किदै गएपछि सैन्य परिषद् आन्दोलनकारीसँग वार्ता गर्न तयार भएपछि वार्ता शुरु भएको छ ।
सैन्य सरकारलाई नागरिक सरकारमा रूपान्तरण गर्नुपर्ने आन्दोलनकारीको मागमा सैन्य परिषद् सकारात्मक भएपछि वार्ता शुरु भएको हो । सु
डानका प्रभावशाली राजनीतिक नेता मेहदीले अहिले सेनालाई चुनौती दिन खोज्नु अझ वातावरण धमिल्याउनु जस्तो हुने तर्क गर्नुभएको छ ।
सुडानको सेनाले केही समय अगाडि तीन वर्षदेखि शासन गर्दै आउनु भएका तत्कालीन राष्ट्रपति ओमर अल बशिरलाई बर्खास्त गरेर शासन हातमा लिएको छ ।
गत अप्रिल ११ मा बशिरलाई बर्खास्त गरेपछि सेनाको त्यस कदमका विरुद्धमा सुडानमा आन्दोलन भइरहेको छ ।
बशिरले पनि जनतालाई सुशासनको प्रत्याभूत गराउन नसकेको, मूल्यवृद्धि रोक्न नसकेको तथा देशमा अत्यधिक भ्रष्टाचार हुँदा पनि यसको नियन्त्रण गर्न असफल भएको भन्दै उहाँका विरुद्ध पनि आन्दोलन हुँदै आएको थियो ।
त्यही आन्दोलनको जगमा सेनाले उहाँलाई अपदस्थ गरेर सैन्य परिषद् गठन गरेको थियो ।
तर त्यसका विरुद्धमा पनि आन्दोलन भएपछि अहिले वार्तामार्फत सेना र नागरिक सम्मिलित संयुक्त सरकार बनाउने प्रयास भइरहेको छ ।
