निस्सानका पूर्व प्रमुख गोउनलाई धरौटीमा रिहा गर्न आदेश
टोकियो, जापान, १२ वैशाख : जापानी गाडी कम्पनी निस्सानका पूर्व प्रमुख कार्लोस गोउनलाई टोकियोको एक अदालतले धरौटीमा रिहा गर्ने आदेश बिहीबार दिएको छ । उहाँलाई कर्पोरेट कोषहरूको रकम हिनाविना गरेको आरोपमा यस हप्तासहित अनुसन्धानका लागि चौथो पटक पक्राउ गरिएको थियो ।
टोकियोको एक जिल्ला अदालतले निस्सानका पूर्वप्रमुखलाई गोउनलाई ४५ लाख अमेरिकी डलर बराबरको धरौटीमा रिहा गर्न आदेश दिएको थियो । गोउन, ६५, ले धरौटी रकम जम्मा गरी रिहा हुनुभएको छ । उहाँको मुद्दा जापानी अभियोजनकर्ताहरूको आग्रहमा अदालतमा दोस्रो पटक विचाराधिन अवस्थामा स्थगित गरिएको छ ।
गोउनमाथि लगाइएका अन्य आरोपमाथिको अनुसन्धान तथा सुनुवाईपछि अदालतले राखेका विभिन्न १५ शर्तसहित झण्डै ९० लाख अमेरिकी डलर धरौटी बुझाई मार्चमा रिहा गरिएको थियो ।
पूर्वप्रमुख गोउनले जापान छोड्न नपाउने, मोबाइल तथा कम्प्युटरको सीमित पहुँचमा रहने, निवासमा रहँदा क्यामेराको निगरानीमा रहने र उक्त मुद्दामा सम्लग्न रहेका भनिएका निस्सानका अधिकारीसँग सम्पर्क गर्न नपाउने लगायतका शर्त पालना गर्दै आउनुभएको छ ।
सन् २०१८ को नोभेम्बर १९ मा पहिलोपटक पक्राउ परेका निस्सानका पूर्वप्रमुख कार्लोस गोउनलाई १०८ दिन पछि धरौटीमा रिहा गर्न जापानी अदालतले गत महिना आदेश गरेपछि एक अर्ब जापानी यन धरौटिमा रिहा गरिएको थियो । आर्थिक अनियमितता तथा कम्पनीमाथि विश्वासघात गरेको आरोपमा पक्राउ परेका गोउनले जेल पर्नुपहिले प्राय सानदार सुट, सर्ट र टाईमा हिँड्ने गरेपनि गतमहिना जेलबाट रिहा हुँदा सुन्तला रङको अनौपचारिक पहिरनमा बाहिरिनु भएको थियो ।
करिब पाँच लाख व्यक्तिलाई रोजगारी दिँदै आएको जापानी कार कम्पनी निस्सानले सन् २०१७ मा विश्वभर रहेका आफ्ना कम्पनीमार्फत करिब एक करोड ६ लाख गाडीको विक्री गरेको थियो । भ्रष्टाचार आरोपमा थुनामा रहेका निसान कम्पनीका पूर्व अध्यक्ष कार्लोस गोउनलाई पहिलो पटक गत पुसमा टोकियो अदालतमा उपस्थित गराइएको थियो । अदालतमा बयानका क्रममा उहाँले आफू निर्दोष रहेको र कुनै अपराध नगरेको दाबी गरेको अदालतले जनाएको छ ।
सरकारी वकीलहरुले गोउनमाथि कम्पनीको झुटो वित्तीय प्रतिवेदन तयार गरेको आरोप लगाएका छन् । उहाँमाथि खासगरी सन् २०१५ देखियता पाँच वर्षको अवधिमा तलब बापत लिएको करिब चार करोड ४० लाख अमेरिकी डलरलाई कम्पनीको वित्तीय विवरणमा समावेश नगरेको आरोप छ । वकीलहरुले वित्तीय सफ्टका कारण निस्सानमा गरेको लगानीमा हुने जोखिमलाई विचार गरेर गोउनले आफूलाई सुरक्षित बनाएको आशङ्का पनि गरेका छन् ।
फ्रान्सेली नागरिक भएपनि उहाँले निस्सानको व्यवसायिक सङ्कटका समय कम्पनीका उत्पादनलाई चीन, रुस, ब्राजिल र भारतसम्म विस्तार गरेको तथा विद्युतीय कार र स्वचालित ड्राइभिङ जस्ता नवीन प्रविधिको प्रयोगमा ल्याउनुभएको थियो । केही वर्षयता निस्सान कम्पनीमा फ्रान्सेली कार उत्पादक रेनल्टले पनि सेयर लगानी गरेको छ । हाल निसानमा रेनल्टको ४३ प्रतिशत हिस्सा छ भने रेनल्टमा निसानको १५ प्रतिशत सेयर छ ।
