भाजपाका सांसद उदित राज काङ्ग्रेसमा प्रवेश

नयाँ दिल्ली, ११ वैशाख : सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)का सांसद उदित राज विपक्षी दल भारतीय राष्ट्रिय काङ्ग्रेस पार्टीमा प्रवेश गर्नुभएको छ ।

काङ्ग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले उहाँलाई बुधबार आयोजित एक कार्यक्रमबीच आफ्नो पार्टीमा स्वागत गर्नुभएको छ ।

उदितले पार्टी परिवर्तन गरेपछि ट्विटरमा लेख्नुभएको छ, “आजदेखि म काङ्ग्रेस पार्टीमा आबद्ध भएको छु, यो अवसरका लागि पार्टी अध्यक्ष राहुल गान्धीलाई म धन्यवाद दिन चाहन्छु ।”

काङ्ग्रेस पार्टीले पनि आफ्नो आधिकारिक माध्यममार्फत भाजपा सांसद उदित आफ्नो पार्टीमा प्रवेश गरेको फोटो सार्वजनिक गरेको छ ।

दिल्ली निर्वाचन क्षेत्रबाट भाजपाले उम्मेदवार बन्न नदिएपछि उदित काङ्ग्रेस प्रवेश गरेको समाचारमा जनाइएको छ ।

दलित समुदायबाट राजनीतिक नेता बनेका उदितले सन् २०१४ को निर्वाचनमा भाजपाकै तर्फबाट जित हासिल गर्नुभएको थियो ।

आफूलाई पार्टीले उम्मेदवार नबनाएमा आफूले पार्टी परित्याग गर्ने उहाँले यसअघि नै चेतावनी दिँदै आउनुभएको थियो ।

यसअघि भाजपाबाट उम्मेदवार बन्नुभन्दा केही समयअगाडि उहाँले आफ्नो पार्टी भारतीय न्यायिक पार्टीलाई भाजपामा विलय गराउनु भएको थियो ।

भारतमा लोकसभाको निर्वाचन भइरहेकाले विभिन्न नेताहरुले पार्टी परिवर्तन गर्ने क्रम तीव्र भएको छ ।

सात चरणमा हुने निर्वाचन यही अप्रिल ११ मा शुरु भएको हो भने आउँदो मे १९ तारिखमा सकिने तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.