अमेरिकाले आपत्ति जनाउने
जेरुसेलम, ६ भदौ : सिरियाको इद्लिब प्रान्त पुनः सरकारले कब्जामा लिनका लागि रासायनिक हतियार प्रयोग गरेको पुष्टि भएमा अमेरिकाले कडा प्रतिक्रिया जनाउने सङ्केत गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सुरक्षा सल्लाहकारले बुधबार सिरियाली राष्ट्रपति बसर अल असादको सरकारलाई यस्तो सङ्केत गर्नुभएको समाचारमा जनाइएको छ ।
सिरियामा रासायनिक हातहतियार आपूर्ति गर्न इरानको हात रहेको अमेरिकाले बारम्बार आरोप लगाउँदै आएको छ ।
जेरुसेलमको भ्रमणमा रहनु भएका सुरक्षा सल्लाहकार जोन बोल्टोनले पत्रकार सम्मेलनका क्रममा सो कुरा बताउनुभएको हो ।
इरानको शासन सत्ता परिवर्तन गर्ने अमेरिकी नीति नभएको बोल्टोनले स्पष्ट पार्नुभएको छ । तर इरानले आफ्नो शासन सत्ताको व्यवहारमा भने आमूल परिर्वतन गर्नुपर्ने उहाँको भनाई छ ।
