गृहमन्त्री राजनाथ सिंहद्वारा लखनउमा उम्मेदवारी दर्ता
लखनउ, ३ वैशाख : आफ्ना समर्थकहरूको ठूलो भिडसहित भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले मङ्गलबार उम्मेदवारी दर्ता गराउनु भएको छ ।
उत्तर प्रदेशअन्तर्गत पर्ने लखनउ निर्वाचन क्षेत्रबाट उहाँले लोकसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनु भएको हो । उम्मेदवारी दर्ता गराउनु अघि उहाँले हनुमान सेतु मन्दिरमा आफ्ना समर्थकहरूलाई सम्वोधन गर्नु भएको थियो । उम्मेदवारी दर्ता गराउने कार्यालयदेखि झण्डै ६ किलोमिटर टाढासम्म उहाँका समर्थकहरूको ¥याली रहेको थियो ।
लखनउबाट ६७ वर्षीय नेता सिंहले अहिले दोस्रो पटक उम्मेदवारी दिनुभएको हो । उहाँले यसअघि सन् २०१४ मा प्रमुख प्रतिस्पर्धी काँग्रेसका उम्मेदवारभन्दा सबैभन्दा धेरै फरक मतान्तरले जित हासिल गर्नुभएको थियो ।
भारतीय जनता पार्टी (भाजपा)का नेता सिंहसँग त्यतिबेला काँग्रेसका रिता बहुगुना जोशीले प्रतिस्पर्धा गर्नुभएको थियो । उहाँ अहिले सिंहकै पार्टी भाजपामा हुनुहुन्छ भने प्रदेश सरकारको मन्त्री पनि हुनुहुन्छ ।
लखनउ निर्वाचन क्षेत्रलाई भारतीय जनता पार्टी (भाजपा)को प्रतिष्ठाको निर्वाचन क्षेत्रका रूपमा पनि हेरिन्छ । यो निर्वाचन क्षेत्रबाट एक पटक पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयीले पनि उम्मेदवारी दिनुभएको थियो ।
भारतमा यही अप्रिल ११ देखि शुरु भएको लोकसभा निर्वाचन आउँदो मे १९ तारिखसम्म चल्ने भएको छ । निर्वाचन सात चरणमा हुन लागेको हो ।
