अमेरिकी विदेशमन्त्री पोम्पेओ पेरुमा
लिमा, १ वैशाख : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ शनिबार पेरु पुग्नुभएको छ । विभिन्न चारओटा ल्याटिन अमेरिकी देशहरुको भ्रमणको क्रममा उहाँ शनिबार पेरु पुग्नुभएको समाचारमा जनाइएको छ ।
उहाँले यी ल्याटिन अमेरिकी देशहरुको भ्रमणका क्रममा विशेषगरी भेनेजुएलाको सङ्कटका विषयमा भ्रमण केन्द्रित गर्नुभएको पनि प्राप्त समाचारमा जनाइएको छ । उहाँले पेरुका राष्ट्रपति मार्टिन विजकारा र विदेशमन्त्री नेस्टोर पोपोलिजियोसँग वार्ता गर्नुभएको छ ।
विदेशमन्त्री पोम्पेओले आइतबार पेरुका व्यापारिक प्रतिनिधिहरुसँग अन्तरक्रिया पनि गर्नुहुने कार्यक्रम रहेको बताइएको छ । विदेशमन्त्री पोम्पेओले ब्राजिलका विदेशमन्त्री अर्नेस्टो आरुजोसँग पनि फोनवार्ता गर्नुभएको थियो । सो जानकारी अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको हो ।
सो फोनवार्ताका क्रममा उहाँहरुले दुई देशबीचको सम्बन्ध थप विकसित र सुदृढ बनाउने र भेनेजुएलाको विषयमा आपसमा मिलेर समस्या समाधान गर्ने बारेमा कुराकानी भएको पनि अमेरिकी विदेशमन्त्रालयले जानकारी दिएको छ ।
भेनेजुएलाको समस्या समाधानका लागि उसका छिमेकी देशहरुसँग पनि वार्ता गर्ने र उनीहरुको सुझाव र सल्लाह लिएर अघि बढ्ने विषयमा कुराकानी भएको थियो । विदेशमन्त्री पोम्पेओले ल्याटिन अमेरिकी देश पाराग्वेको पनि भ्रमण गर्नुभएको थियो ।
उहाँ पाराग्वेको भ्रमण गर्ने पहिलो विदेशमन्त्री हुनुभएको छ । उहाँ शुक्रबार पाराग्वे पुग्नुभएको हो । सो देशमा सन् १९६५ देखि निरन्तर रुपमा निरंकुश शासन व्यवस्था चल्दै आएको छ ।
त्यस अवसरमा उहाँले पाराग्वेमा प्रजातान्त्रिक व्यवस्थाको स्थापनाका लागि भएका अभियानहरुलाई प्रेरित गर्ने प्रयास गर्नुभएको त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ ।
त्यसैगरी विदेशमन्त्री पोम्पेओले चिली पुगेर त्यहाँका राष्टपति सेवास्तिन पिनेरासँग भेटवार्ता गर्नुभएको थियो । त्यस वार्ताका क्रममा विशेषगरी चिलीको चीनसँगको व्यापारिक सम्बन्धका विषयमा बढी कुराकानी भएको बताइएको छ ।
विदेशमन्त्री पोम्पेओ यस भ्रमणका क्रममा आइतबार कोलम्बिया पुग्नुहुने छ । उहाँ कोलम्बियाको सीमा क्षेत्रीय शहर कुकुता पुग्नुहुने छ । त्यस क्षेत्रमा उहाँले कोलम्बियामा रहेका शरणार्थीहरुलाई भेट्नुहुने छ ।
ती शरणार्थीहरुको वर्तमान अवस्थाको अवलोकन गर्ने र अमेरिकी सहयोगको बाचा गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
यी चार देशको भ्रमणका क्रममा उहाँको मुख्य चासो भनेको भेनेजुएलामा हालै भएको नयाँ राष्ट्रपतिको घोषणा र त्यसका कारण उत्पन्न परिस्थितिको बारेमा आवश्यक परामर्श गर्नु रहेको थियो ।
भेनेजुएलाका राष्ट्रति निकोलास मोदुरोलाई एक्लाउने र हालै राष्ट्रपतिका रुपमा आएको त्यहाँका विपक्षी नेताको पक्षमा समर्थन जुटाउनु उहाँको भ्रमणको मुख्य उद्देश्य रहेको बताइएको छ ।
