सुडानमा नागरिक सरकार बनाउन विपक्षीको माग

खार्तुम, ३० चैत : सुडानको विपक्षी गठबन्धनले अन्तरिम सैन्य परिषद्लाई अन्तरिम नागरिक सरकारमा रुपान्तरण गर्न माग गरेको छ ।

तत्कालिन राष्ट्रपति ओमार अल बशिरलाई पदच्युद गरी सेनाले नै सैन्य परिषद् गठन गरेको घोषणा गरेपछि विपक्षीहरुले नागरिक सरकार बनाउन माग गरेका हुन् ।

सुडान विपक्षी स्वतन्त्र र परिवर्तन गठबन्धनले लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्नका लागि नागरिक स्तरबाट सरकार बनाउनु पर्नेमा जोड दिएको छ ।

सुडानी विभिन्न पेशागत संगठनहरु समेत रहेको गठबन्धनले सैन्य परिषद्को नेतृत्व गर्नु भएका लेफ्टीनेन्ट जनरल अब्देल फत्ताह अल बुर्हान अब्देल रहमानलाई सडकको आवाज सुन्न पनि आग्रह गरेको छ ।

आम नागरिकहरुले तत्काल नागरिक सरकार बनाउन माग गरेको र सैन्य परिषद्ले लिएको शक्ति हस्तान्तरण गर्न गठबन्धनले शुक्रबार जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

सुडानमा ३० बर्षदेखि शासन गर्नु भएका तत्कालिन राष्ट्रपति ओमारलाई हटाएर सैन्य परिषद् गठन गरेपछि पनि प्रदर्शनहरु भइरहेका छन् ।

त्यसअघि पनि ओमारलाई हटाउन माग गर्दै सैन्य मुख्यालय अगाडी लामो समयदेखि प्रदर्शन भइरहेको थियो ।

विरोध प्रर्दशन बढ्दै गएपछि शुक्रबार नै अन्तरिम सैन्य परिषद्का अध्यक्ष तथा तत्कालिन रक्षा मन्त्री अवाद मोहम्मद इब्न आफले राजिनामाको घोषणा गर्नु भएको छ । उहाँले लेफ्टीनेन्ट जनरल रहमानलाई जिम्मेबारी दिनु भएको छ ।

सन् १९८९ कु गरेर शासन गर्दै आउनु भएका ओमारलाई विगत चार महिना देखि भएको रक्तपातपूर्ण आन्दोलनपछि सैन्य उच्चअधिकारीहरुले पदमुक्त गरिदिएका हुन् ।

उनीहरुले दुई बर्षका लागि परिषद् गठन गरिएको र त्यसपछि लोकतान्त्रिक प्रक्रियामार्फत नागरिक सरकार बनाइदिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.