इराकी प्रधानमन्त्री अब्दुल पहिलो पटक इरान जाने
बग्दाद, २० चैत : इराकका प्रधानमन्त्री अदेल अब्दुल माहदी पहिलो पटक इरान भ्रमणमा जान लाग्नुभएको छ ।
उहाँको पहिलो औपचारिक भ्रमण आउँदो शनिबार हुने तय भएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जानकारी दिएका छन् । अहिले ७७ वर्ष हुनुभएका प्रधानमन्त्री अब्दुलले अमेरिका र इरानसँग इराकले राम्रो सम्बन्ध बनाउन चाहेको पटक पटक बताउने गर्नुभएको छ ।
प्रधानमन्त्री अब्दुलले मुस्लिम देश इरानमा दुई दिन बिताउनु हुने भएको छ । भ्रमणका क्रममा उहाँले आर्थिक, व्यापारिक, दुई पक्षीय सम्बन्ध, क्षेत्रीय राजनीति लगायतका विषयमा छलफल गर्नुहुने अपेक्षा गरिएको छ ।
इराकका लागि धेरै सामानहरु निर्यात गर्ने देशहरुमध्ये इरान दोस्रो ठूलो देशमा पर्दछ । त्यसैले यी दुई देशकाबीचमा गहिरो सम्बन्ध रहेको छ ।
इराकमा पछिल्लो समय वरिष्ठ अधिकारीहरुले भ्रमण गरेका थिए । इरानी राष्ट्रपति हसन रुहानीले मार्चमा इराकको भ्रमण गर्नुभएको थियो भने अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले गत जनवरीमा भ्रमण गर्नुभएको थियो ।
साप्ताहिक पत्रकार सम्मेलनका क्रममा गत मङ्गलबार प्रधानमन्त्री अब्देलले साउदी अरब, टर्की, अमेरिकालगायतका देशहरुको भ्रमणको योजना बनाएको बताउनु भएको थियो ।
