अल्जेरियाका बोतेफ्लिकाले राजीनामा दिने
अल्जियर्स, १९ चैत : बुढ्यौलीका कारण अशक्त अवस्थामा पुग्नुभएका अल्जेरियाका राष्ट्रपति अब्देलाजीज बोतेफ्लिकाले आगामी अप्रिल २८ अघि नै राजीनामा दिने तयारी गर्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
अशक्तताका कारण सार्वजनिक समारोहमा समेत उपस्थित हुन छाड्नु भएका ८२ वर्षीय राष्ट्रपति अब्देलाजीजले राजीनामा गर्नुपर्ने माग गर्दै केही समयदेखि देशव्यापी विरोध प्रदर्शन समेत भएका छन् । देशव्यापी प्रदर्शन बढ्दै गएपछि राष्ट्रपतिका विश्वासपात्र उच्च पदस्थ व्यक्तिहरुले समेत राजीनामा दिएका छन् ।
विगत २० वर्षदेखि अल्जेरियाको राष्ट्रपति रहनुभएका अब्देलाजीजलाई सन् २०१३ मा हृदयाघात समेत भएको थियो । “केही महत्वपूर्ण निर्णयहरु” गरेपछि राष्ट्रतिले राजीनामा गर्नुहुनेछ, अब्देलाजीजको कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । तर राष्ट्रपतिले के निर्णय गर्न खोज्नुभएको हो भन्ने केही खुलाइएको छैन ।
राष्ट्रपति अब्देलाजीजले गत फेब्रुअरीमा आफू पुनः राष्ट्रपतिमा उठ्न सक्ने बताएपछि राष्ट्रव्यापी प्रदर्शन तीव्र बनेका छन् । उहाँ अहिले चौथो कार्यकालमा हुनुहुन्छ । तर राष्ट्रपतिले गत महिना राष्ट्रपतिमा नउठ्ने घोषणा गर्नुभयो तर अप्रिलका लागि तयारी गरिएको राष्ट्रपतिको चुनाव एकाएक स्थगित गर्नुभयो । चुनाव स्थगित गरिएपछि राष्ट्रपतिमाथिको आक्रोश अझ बढेको छ ।
गत मङ्गलबार अल्जेरियाका सेनाप्रमुख जनरल अहमद सलाहले राष्ट्रपति स्वयंले राजीनामा गर्नुपर्ने अथवा संसदले राष्ट्रपतिलाई विस्थापित गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको थियो । सेनाप्रमुख सलाहलाई सन् २००४ मा राष्ट्रपति अब्देलाजीजले नै नियुक्त गर्नुभएको थियो ।
गत बुधबार हालै मात्र हटाइएका प्रधानमन्त्री अहमद औहाइयाले पनि राष्ट्रपतिको राजीनामा माग गर्नुभएको छ । अल्जेरियाको संविधान अनुसार राष्ट्रपतिले राजीनामा बुझाएको अवस्थामा राष्ट्रियसभाका सभामुखले अन्तरिम राष्ट्रपतिका रुपमा कार्य गर्न सक्नुहुनेछ । अन्तरिम राष्ट्रपतिले ९० दिनभित्र राष्ट्रपतिको चुनाव गराउनुपर्नेछ ।
