थाइल्याण्डका एक लाख २० हजार मतदाता देश बाहिर

बैङ्कक, ८ फागुन : थाइल्याण्डमा हुन लागेको निर्वाचनका लागि झण्डै एक लाख २० हजार मतदाताले देश बाहिरबाट मतदान गर्न पाउने भएका छन् ।

आगामी मार्च २४ तारिखका दिन हुने आम निर्वाचनमा उनीहरूलाई देश बाहिरबाट मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले एक लाख १९ हजार १८४ जनाले विदेशबाट मतदान गर्नेगरी मतदाता नामावली तयार भएको जानकारी दिएको हो ।

आयोगका अधिकारीहरूले दिएको जानकारी अनुसार देश बाहिरबाट मतदान गर्नेहरू ६७ देशमा रहेका छन् ।

मतदान गर्ने प्रवासीमध्ये सबैभन्दा धेरै अष्ट्रेलियामा रहेका छन् भने दोस्रो धेरै अमेरिकामा रहेका छन् । अष्ट्रेलियामा १६ हजार १८३ जना र अमेरिकामा १५ हजार १० जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी तेस्रो धेरै मतदाता भएको मुलुकमा चीन परेको छ, जहाँ थाइल्याण्डका दश हजार ९९६ जना मतदाता रहेका छन् ।

निर्वाचनका लागि झण्डै दश हजार उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले दिएको अन्तिम नामावलीअनुसार देशभरी दश हजार ७९२ जना उम्मेदवार हुने भएका छन् ।

थाइल्याण्डमा देशभरी गरेर कुल ३५० निर्वाचन क्षेत्र रहेका छन् । हरेक निर्वाचन क्षेत्र र पार्टीको सूचीबाट गरी निर्वाचन हुने कूल सांसदको सङ्ख्या भने पाँच सय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.