‘भेनेजुयला सङ्कट कम गर्न अमेरिका कोलम्वियाबीच सहकार्य हुने’
वासिङटन, संयुक्त राज्य अमेरिका, २ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा अमेरिका भ्रमणमा रहेका कोलम्बियाका राष्ट्रपति इभान डुकले भेनेजुयलाका बिषयमा सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको घोषणा भएको छ ।
दुई नेताबीच भेनेजुयलाका बिषयमा सहकार्यको महत्व र दुईपक्षीय सम्बन्धलाई मजबुत पार्ने सहमति भएको अमेरिकी सञ्चारमाध्यमले बताइएका छन् ।
भेटपछि पत्रकारलाई दिइएको संयुक्त प्रतिक्रियामा राष्ट्रपति ट्रम्पले भेनेजुयलाको अवस्थालाई ‘हलचलपूर्ण’ भन्नुभएको छ । यस्तो परिस्थितिमा भेनेजुयला (मदुरो) ले मानवीय सहयोग अस्वीकार गर्नु ‘भयङ्कर गल्ती’ भएको ट्रम्पको भनाई रहेको छ ।
ट्रम्पले कोलम्बियाका राष्ट्रपतिसँगको आफ्नो बैठक भेनेजुयलाबारेको छलफलमा समर्पित बनेको बताउनुभयो भने डुकले वासिङ्टन र बोगोटाबीच भेनेजुयलाबारे छलफल जारी रहने बताउनुभयो ।
भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोले कक्बोडियाका नेता डुक र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भएको बुधबारको बैठकलाई ‘भेनेजुयला विरोधीको भोज’ को सज्ञा दिनुभएको छ ।
भेनेजुयलाबारे आगामी नीतिमा ट्रम्प अस्पष्ट देखिनुभएको छ । के भेनेजुयलामा सैनिक समाधान विकल्प हो भन्नेबारे सञ्चारकर्मीको प्रश्नमा ट्रम्पले भन्नुभयो, “धेरै विकल्पहरू छन् र हामी सबै विकल्पलाई हेरिरहेका छौँ ।”
