टर्कीका राष्ट्रपति मस्कोमा, सिरियाका कारण टर्कीमा पर्ने सुरक्षाबारे छलफल हुने

अङ्करा, टर्की, ९ माघ : अमेरिकी सेनालाई सिरियाबाट फर्काउने वासिङ्टनको निर्णयपछि सिरिया समस्याबारे रूस र टर्कीबीचको परामर्शका लागि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान बुधबार मस्कोतर्फ जानुभएको छ ।

मस्कोमा उहाँले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

एक दिने भ्रमणका क्रममा दुई नेताबीच दुईपक्षीय सम्बन्ध र क्षेत्रीय तथा अन्तराष्ट्रिय बिषयमा विचार आदानप्रदान हुने कार्यक्रम रहेको टर्कीको राज्य सञ्चालित समाचार संस्था अनादोलु एजेन्सीले जनाएको छ ।

रूस जानुपूर्व एर्दोगानले गत सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा आफ्नो रूस भ्रमणका क्रममा रूसी राष्ट्रपति पुटिनसँग आफ्नो देशको सुरक्षाका लागि उत्तरी सिरियामा टर्की नियन्त्रित सुरक्षा क्षेत्र स्थापनाका लागि छलफल गर्ने बताउनुभएको थियो । अमेरिकाले आफ्नो सेनालाई सिरियाबाट फिर्ता गर्ने निर्णयसँगै टर्कीले आफ्नो दक्षिणी सीमा क्षेत्रमा सिरियाली द्वन्द्वको प्रभाव पर्ने भन्दै उक्त प्रस्ताव गरिएको हो ।

तर रूसी विदेशमन्त्री सेर्गेइ लाभरोभले गत हप्ता यस बिषयमा बोल्दै सिरियाको उत्तरी क्षेत्रको नियन्त्रण सिरियासँगै हुनपर्ने धारणा राख्नुभएको थियो । उहाँले सिरियामा सवै पक्षको चासोका बिषयमा मस्को चिन्तित रहेको बताउनुभएको थियो ।

यसैबीच काजकास्तानको अस्तानामा भएको टर्की, रूस र इरानबीचको शिखर सम्मेलनको ‘युद्ध निशेधित क्षेत्र’ निर्माण गर्ने महत्वपूर्ण निर्णयबारे पनि विचारविमर्श हुने बताइएको छ ।

दुई नेताबीच सन् २०१८ मा विभिन्न प्रसङ्गमा सात पटक प्रत्यक्ष भेट भएको छ १८ पटक फोनमार्फत कुराकानी भएका छन् । प्राय ती सबै भेट तथा कुराकानी दुईपक्षीइ सम्वन्धलाई मजबुत पार्ने तथा खासगरी सिरिया लगायतका क्षेत्रको विकासका लागि केन्द्रित भएका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.