प्रसिद्ध साहित्यकार भी.एस. नयपालको निधन

लन्डन, २७ साउन : साहित्यमा नोबेल पुरस्कार विजेता बेलायती लेखक भी.एस. नयपालको ८५ वर्षको उमेरमा निधन भएको छ । उत्तर–औपनिवेशकालीन परिवर्तनका पीडाका बारेमा प्रखर वक्ताका रुपमा उहाँले आफ्नो परिचय बनाउनुभएको थियो ।

भारतीय कर्मचारीका छोरा नयपालको जन्म बेलायती उपनिवेश रहेको ट्रिनीडाडमा भएको थियो । उहाँका विश्व चर्चित पुस्तकहरुमा “ए हाउस फर मिस्टर विश्वास” र बुकर पुरस्कार विजयी “इन अ फ्री स्टेट” रहेका छन् ।
“उहाँको मृत्यु पारिवारिक सदस्यहरुका माझमा भयो,” नयपालकी पत्नी नदीरा नयपालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

नयपाल ट्रिनीडाडबाट बेलायत बसाइँ सर्नुभएको थियो र त्यहीँको अक्सफोर्ड विश्वविद्यालयमा अंग्रेजी साहित्य अध्ययन गर्नुभएको थियो ।

नयपालले आफ्नो अधिकांश समय घुमफिरमा बिताउनुभएको थियो र बेलायती सांस्कृतिक धरोहरको एकजना खम्बाका रुपमा रहेपनि उहाँले साहित्यमा पूर्खाविहीन धारको प्रतीकका रुपमा आफूलाई स्थापित गर्नुभएको छ । उहाँका सुरुआती वर्षहरुका रचना वेस्ट इन्डिजमा केन्द्रित थिए, तर पछि उहाँको रचना विश्वजगतलाई समेट्ने किसिमका हुन थाले ।

उहाँ विगतमा विवादित पनि बन्नुभयो, खासगरी उहाँले उत्तर–औपनिवेशिक मुलुकहरुलाई “अर्ध–निर्मित समाज” का रुपमा चित्रित गरेपछि । ईस्लाम धर्मले अन्य संस्कृतिलाई दास बनाउने र सखाप पार्ने धारणा राखेपछि त उहाँमाथिको आलोचना तीव्र बनेको थियो ।

सन् २००१ मा साहित्यतर्फको नोबेल पुरस्कार पाउनु भएका नयपालले ३० वटाभन्दा बढी पुस्तक लेख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.