राहतका लागि राहुलद्वारा प्रधानमन्त्री मोदीलाई पत्र

नयाँ दिल्ली, भारत, २६ साउन : केरलामा निरन्तरको मुसलधारे बर्षाका कारण आएको बाढी तथा पहिरोले स्थानीय वस्तीहरूलाई प्रभावित बनाएपछि ठूलो सङ्ख्यामा नागरिकहरू विस्थापित बनेका छन् ।

दक्षिण भारतको उक्त इलाकामा पहिरो तथा डुबानमा परी यस महिना मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।
बाढी तथा पहिरोका कारण केरलाका खासगरी नदी किनाराका वस्तीहरूमा ठूलो क्षति भएको र बाढी प्रभावित नागरिकको समस्यालाई तत्काल राहतको व्यवस्था हुनुपर्ने माग भारतीय कङ्ग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई समस्याप्रति ध्यानाकर्षण गराउनुभएको छ ।

शनिबार प्रधानमन्त्रीलाई लेखेको पत्रमा गान्धीले केन्द्र सरकारका प्रधानमन्त्री मोदीलाई पत्राचार गर्नुभएको हो । पत्रमा गान्धीले केन्द्रमार्फत केरला सरकारलाई राहत सहयोगका लागि प्रशस्त वजेटको प्रबन्ध गर्न आग्रह गर्नुभएको छ ।
बाढीले केरलाका कैयौँ जिल्लाहरूमा मानवीय क्षति, पशु चौपायाको क्षतिका साथै नगदे तथा अन्य कृषि वालीलाई व्यापक प्रभावित बनाएको छ ।

विगत पाँशच दशककै सबैभन्दा ठूलो विपद केरला राज्यमा देखिएको र यसबाट ठुलो मानवीय तथा आर्थिक क्षति भएको उल्लेख पत्रमा नेता राहुलले जनाउनुभएको छ । बाढीका कारण राज्यको माझी समुदाय सबैभन्दा बढी प्रभावित भएको पनि पत्रमा उल्लेख छ । अकी नामक आँधीका कारण उक्त क्षेत्रको माछापालनमा नराम्रो प्रभाव छोडेको र यो माछा किसानका लागि ठूलो धक्का भएको, नेता राहुलले प्रधानमन्त्रीलाई पठाएको पत्रमा बताउनुभएको छ ।
केरलामा बाढी तथा पहिरो र डुवानका कारण नियमित विद्युत आपूर्तिमा समस्या भएको, सडकहरू भत्किएको र ठूलो मानवीय विपत आएको छ जसलाई पूरानो अवस्थामा ल्याउन निकै ठूलो बजेटको आवश्यक रहेकोसमेत पत्रमा उल्लेख छ ।

कङ्ग्रेस अध्यक्षले केन्द्र सरकारले समस्याप्रति संवेदनशील बनी केरला सरकारसँग समन्वयका साथ अघि बढ्ने र यसबाट पीडितले राहतको महशुस गर्ने गरी बजेटको निकासा हुनेमा विश्वास व्यक्त गर्नुभएको छ ।

केरला सरकारले शनिबार हालैको बर्षापछि बाढी, पहिरो तथा डुबानका कारण ज्यान गुमाएका मृतकका परिवारजनलाई चार लाख भारतीय रुपैँया बराबरको राहतको घोषणा गरेको छ । बाढीमा घर तथा व्यापक खेतीवाली गुमाएका नागरिकलाई प्रतिपरिवार १० लाख भारतीय रूपैँया दिने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.