चिलीकी ब्यासेलेट मानव अधिकार प्रमुख नियुक्त

संयुक्त राष्ट्रसंघ, २४ साउन : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बुधबार चिलीकी पूर्व राष्ट्रपति मिसेल ब्यासेलेटलाई राष्ट्रसंघीय मानव अधिकार प्रमुखमा नियुक्त गर्नुभएको छ । दुई पटक चिलीको राष्ट्रपति हुनुभएकी ६६ वर्षीया श्री मिसेलले चिलीका पूर्व तानाशाह पिनोसेको शासनकालमा चरम यातना भोग्नु भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिका कटु आलोचक जोर्डनका जाइद राद अल हुस्सेनलाई श्री ब्यासेलेटले प्रतिस्थापन गर्नुहुनेछ । निवर्तमान प्रमुख जाइद सेप्टेम्बर २०१४ देखि मानव अधिकार प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

राजनीतिक वृत्तमा विश्वका सर्वाधिक शक्तिशाली महिलाको सूचीमा रहेकी ब्यासेलेटले सन् २०१० मा विश्वभर लैंगिक समानताको प्रबद्र्धनका क्षेत्रमा कार्य गर्ने संयुक्त राष्ट्रसंघीय निकाय युएन वुमनको प्रथम निर्देशकका रुपमा सेवा गरिसक्नु भएको छ ।

गुटेर्रेसले राष्ट्रसंघका क्षेत्रीय समूहहरुका प्रमुखसँगको परामर्श पश्चात बुधबार एउटा पत्र लेखी आफ्नो निर्णय संयुक्त राष्ट्रसंघीय महासभालाई जानकारी गराउनुभएको छ, राष्ट्रसंघको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एकसय ९३ सदस्यीय सभाको बैठकले शुक्रबार यससम्बन्धी प्रस्तावमा मतदान गर्नेछ । जाइदले अगष्ट ३१ तारिखबाट अवकाश लिँदै हुनुहुन्छ ।

ब्यासेलेटले जाइदको कार्यकालमा रहेका कैयौं मतभेदलाई सुल्झाउनु पर्ने चुनौती छ । अमेरिका, रुस र चीन समेतका शक्तिशाली राष्ट्रको समर्थन गुमाउनुभएका जाइदले दोस्रो कार्यकालका लागि पहल नगर्ने घोषणा गर्नुभएको थियो । जाइदले गत वर्ष राष्ट्रपति ट्रम्पलाई “भिराला बाटाहरुमा जथाभावी सवारी हुइँक्याउने” बसका चालकसँग तुलना गर्नुभएको थियो ।

जाइदका सन्दर्भमा कटाक्ष गर्दै राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले “विगतका असफलता रोक्न” ब्यासेलेटलाई आग्रह गर्नुभयो ।

“इरान, उत्तर कोरिया, कंगो र अन्यत्र भइरहेका गम्भीर मानव अधिकार सङ्कटको यथेष्ट सम्बोधन गर्न राष्ट्रसंघ असफल भएको छ । ब्यासेलेटमाथि विगतका परम्परावादी सोचबाट बाहिर निस्केर यी असफलताका बारेमा बोल्नुपर्ने चुनौती छ । हाम्रो विश्वास छ उहाँले हाम्रो भावनालाई पनि सुन्नु हुनेछ,” हेलीले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

जाइदले विश्व नेताहरुमाथि कडा टिप्पणी गरिआएका थिए । राष्ट्रसंघीय मानव अधिकार प्रमुखका रुपमा केही नरम आलोचक खोजी रहेको अवस्थामा गुटेर्रेसले गर्न लागेको नियुक्तिप्रति मानव अधिकारवादीहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।

“यदि ब्यासेलेटको नियुक्ति अनुमोदन भएमा यो उहाँमाथि ठूलै चुनौती हुनेछ किनभने विश्वभर अहिले मानव अधिकारको विषय सर्वाधिक संवेदनशील भइरहेको छ, र मानव अधिकारमाथि जथाभावी आक्रमण भइरहेको छ,” ह्यूमन राइट्स वाचका कार्यकारी निर्देशक केन्नेथ रोथले बताउनुभयो । “उहाँ आफैं यातना पीडित भएकाले मानव अधिकारको रक्षाका लागि विशिष्ट योगदान हुने अपेक्षा गर्न सकिन्छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.