कङ्गोका पूर्वगृहमन्त्रीलाई राष्ट्रपति काबिलाको समर्थन
कङ्गो, २३ साउन : कङ्गोका राष्ट्रपति जोसेफ काबिलाले आगामी राष्ट्रपतीय निर्वाचनमा पूर्वगृहमन्त्री इम्मानुअल रामाजानी शाडारीलाई समर्थन गर्नु हुने भएको छ ।
महिनौँदेखिको अनुमानलाई अन्त्य गर्दै उहाँले शाडारीलाई आफ्नो उत्तराधिकारी बनाउने निर्णय गर्नुभएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।
राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समय सकिनु केही घण्टा अगाडि मात्रै काबिलाको यस्तो निर्णय सार्वजनिक भएको हो ।
कङ्गोमा आगामी डिसेम्बर २३ मा राष्ट्रपति चयनका लागि निर्वाचन हुने तय भएसँगै राजनीतिक सरगर्मी अत्यधिक बढेको छ ।
शाडारी राष्ट्रपति काबिलाको पार्टी पिपल्स पार्टी फर रिकन्स्ट्रक्सन एण्ड डेमोक्र्यासी (पीपीआरडी) का स्थायी सचिवसमेत हुनुहुन्छ ।
उहाँले आगामी राष्ट्रपतीय निर्वाचनमा हाम्रो राजनीतिक परिवारको प्रतिनिधित्व गर्नुहुनेछ, त्यसका लागि हाम्रो तर्फबाट सवै तयारी गरिएको छ, एक अधिकारीले पत्रकार सम्मेलनमा भने ।
सतचालिस वर्षका राष्ट्रपति काबिला विगत १७ वर्षदेखि राज्यको शक्तिमा हुनुहुन्छ । उहाँको बुबा लाउरेन्ट काबिलाको हत्यासँगै उहाँ शक्तिमा आउनु भएको हो । उहाँका बुवा लाउरेन्टको आफ्नै सुरक्षागार्डले हत्या गरेका थिए ।