इन्डोनेसियामा भूकम्प, एक लाख ५६ हजार विस्थापित, १३१ को मृत्यु

मताराम, इन्डोनेसिया, २३ साउन : इन्डोनेसियामा गत आइतबार लोम्बोक द्वीपमा गएको शक्तिशाली भूकम्पका कारण १ लाख ५६ हजार व्यक्ति विस्थापित भएका छन् ।

ती व्यक्तिहरू स्थानीय शरणार्थी स्थलमा बसोबास गर्न बाध्य भएका र यी भूकम्प पीडितलाई खाध्य पदार्थ, औषधि र सफा खानेपानीलगायत सुत्ने स्थानको समेत कमी भएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार बेलुका ६.९ म्याग्नीच्युडको भूकम्पमा परी हालसम्म कम्तीमा पनि १३१ व्यक्तिको मृत्यु भइसकेको छ ।

अरू सयौँ घाइते भएको र कतिपय अझै पनि बेपत्ता रहेकाले मृत्यु हुनेहरूको संख्या अझ बढ्न सक्ने राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो नुर्रोहोले जानकारी दिनुभयो ।

यसमा भूकम्पमा परी करिब २३६ व्यक्ति घाइते भएका छन् भने ७० हजार आफ्नो घरबास गुमाएका छन् । भूकम्पका कारण घरबास गुमाएका व्यक्तिहरूलाई शिविर बनाएर राखिएको छ ।
उद्धारकर्ताहरूले मानवीय सहयोग गरिरहेका छन् । सो मानवीय सहयोग पनि पर्याप्त नभएको जनाइएको छ । भूकपपछि हजारौं घर क्षतिग्रस्त भएका छन् ।

यस भूकम्पको केन्द्रविन्दु लोम्बोकबाट १८ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करीव १५ किलोमिटर गहिरो रहेको बताइएको छ ।

इन्डोनेसियाको मौसम विज्ञान विभागले समुद्री सतहको अध्ययनपछि सुनामीको भने खतरा नरहेको जनाएको छ । इन्डोनेसियामा यसै क्षेत्रमा गत साता आएको ६.४ म्याग्नीच्यूडको भूकम्पमा परी १७ जनाको मृत्यु भएको थियो ।

सन् २००४ डिसेम्बरमा इन्डोनेसियाको सुमात्रामा ९.१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पपछि सुनामी आएको थियो । जसका कारण एक दर्जन तटीय क्षेत्रका दुई लाख ३० हजार भन्दाबढी मानिसको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.