‘फाउण्डेशन बन्द गर्न राष्ट्रपति ट्रम्प सहमत ’

न्यूयोर्क, संयुक्त राज्य अमेरिका, ४ पुस : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नाममा रहेको ‘फाउण्डेसन’ बन्द गर्न सहमत हुनुभएको बताइएको छ । 

न्यूयोर्ककी महान्यायाधीवक्ता बार्बरा अन्डरउडले ट्रम्प र उनका तीनजना सन्तानले निजी र राजनीतिक प्रयोजनका लागि उक्त कोषको रकम हिनामिना गरेको आरोपले चर्चा लिँदै गर्दा राष्ट्रपति ट्रम्पले उक्त संस्थालाई बन्द गर्न सहमति दिनुभएको हो । 

ट्रम्प फाउण्डेशनका वकिलले भने उक्त विषयलाई महान्यायाधीवक्ताले राजनीतिकरण गर्न खोजेको आरोप लगाएका थिए । 

एउटा विज्ञप्तिमा अन्डरउडले ट्रम्प फाउण्डेशन अचम्मलाग्दो ढाँचाको हिनामिनामा संलग्न भएको बताउनुभएको थियो भने राष्ट्रपति उक्त परोपकारी संस्था बन्द गर्न सहमत भएको बताउनुभएको थियो । 

उक्त परोपकारी संस्था बन्द हुने शर्तबारे बोल्दै अन्डरवुडले न्यायिक सुपरिवेक्षणमा रहेर मात्रै संस्था विघटन हुने र रकम वितरण हुने बताउनुभएको छ । 

उहाँले संस्था बन्द हुन लाग्नुलाई कानूनी शासनका लागि एउटा महत्वपूर्ण जीत भएको भन्दै यो घटनाले नियम सबैका लागि एउटै भएको स्पष्ट पारेको पनि बताउनुभयो । 

गत जुनमा एउटा ट्वीट गर्दै ट्रम्पले परोपकारी संस्थाले केही अनियमितता नगरेको भन्दै त्यसलाई बन्द गर्न नचाहेको संकेत गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.